नारायणहिटी दरबार अगाडि ‘कागे’ले भेला गरे दर्जनौं काग 

आइतबार, कात्तिक २, २०८२

कागतिहारका अवसरमा कलाकार रमेश दुलाल ‘कागे’ले राजधानीको नारायणहिटी दरबार संग्रहालयद्वारअगाडि ‘२२औँ काग सम्मेलन’सम्पन्न गरेका छन् ।

टप राजधानी रोधी र ग्रीन सिटी अस्पतालको सहआयोजनामा भएको कार्यक्रममा दुलालले आफ्नो विशेष कला प्रस्तुत गर्दै कागलाई आकर्षित गरे । आइतबार (कात्तिक २) बिहान पौने ६ बजे सुरु कार्यक्रममा उनले कागको आवाज निकाल्नासाथ काग भेला भएका थिए ।

दुलालले कागसहित १७३ प्रकारका जनावर र चराचुरुंगीका आवाज नक्कल गर्छन् । मुखकै सहायताले मादल, सनाई, सारंगी, पियानो, ड्रम सेट, मुर्चुंगा र गितारको धुन निकाल्ने कला पनि उनमा छ । 

उनका अनुसार, विगतका वर्षमा उनले रत्नपार्कस्थित शान्ति वाटिका, विमानस्थल परिसरमा त कहिले सामाजिक सन्देशसहित ‘काग सम्मेलन’ गर्दै आएका छन् । दुलालले भने, “कागतिहारको दिन काग सम्मेलन गर्न थालेको अहिले २२ वर्ष भयो । कागलाई यमराजको दूतका रूपमा मानिन्छ । यसपटक भने शुद्ध सांस्कृतिक उद्देश्यले यो सम्मेलन गरेको हुँ ।” 

प्रकाशित मिति: आइतबार, कात्तिक २, २०८२  १०:५४
प्रतिक्रिया दिनुहोस्