कबिर बाबा मन्दिरका पुजारीलाई मध्यराति कसले दाब्यो गोली ?

आइतबार, कात्तिक २, २०८२

सप्तरीको बोदेबर्साइन नगरपालिका–८, काचनको रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको हत्या गरिएको छ । आइतबार (कात्तिक २) बिहान करिब २ बजे अज्ञात समूहले गोली प्रहार गरी ७३ वर्षीय पुजारी रामदुलार साहको हत्या गरेको परिवारका सदस्य रामसुन्दर साहले जानकारी दिए ।

गाउँको पूर्वतर्फ रहेको मन्दिरका पुजारी साह कुटी बनाएर एक्लै बस्दै आएका थिए । अज्ञात समूहले पुजारीलाई सडकमा निकालेर पिठ्युँमा गोली प्रहार गरेको थियो ।

घटना भएको केही मिनेटमै स्थानीयले काचनलीस्थित प्रहरी चौकीमा खबर गरेका थिए । जिल्ला र इलाका प्रहरी कार्यालय कडरबोनाबाट समेत टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान थालेको छ । 

घटनास्थलमा गोलीका दुई खोका फेलापरेको प्रहरीले जनाएको छ । शव परीक्षणका निम्ति धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एवं एसपी गौतमकुमार केसीले जानकारी दिए ।

उनका अनुसार, सीमावर्ती क्षेत्रमा शंकास्पद व्यक्तिमाथि चेकजाँच तीव्र बनाइएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक २, २०८२  १०:२५
प्रतिक्रिया दिनुहोस्