दलबहादुरले ठेकेदार पोसेपछी अख्तियारले चलायो सातजना विरुद्ध भ्रष्टाचार मुद्दा

सोमबार, असोज २७, २०८२

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको भेरी नगरपालिकाको सडक निर्माण ठेक्का प्रक्रियामा अनियमितता भएको भन्दै सात जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

भेरी नगरपालिकाको कारागार रानागाउँ-नेटबजार सडक निर्माण आयोजनाको ठेक्कामा अनियमितता भएको ठहर गर्दै आयोगले सोमबार आरोपपत्र दायर गरेको हो । करिब २ करोड ८० लाख लागतको उक्त आयोजनामा बोलपत्र प्रक्रिया पारदर्शी नभएको र निश्चित ठेकेदारलाई फाइदा पुग्ने गरी ठेक्का दिइएको अख्तियारको दाबी छ । 

२०८० फागुन २० गते ‘थापा र सविन र सुदर्शन जेभी’ सँग २ करोड ६९ लाख ५५ हजार २३३ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । तर, ठेकेदार कम्पनीले आवश्यक औसत वार्षिक कारोबार ७० प्रतिशत नपुगेको र साइट भिजिट प्रमाणपत्रसमेत नबुझाए पनि योग्य ठहर गरिएको अख्तियारले जनाएको छ । सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली, २०६४ को उल्लङ्घन गरी ठेक्का प्रक्रिया हेरफेर गरेको अभियोगमा नगरपालिकाका तत्कालीन र हाल कार्यरत कर्मचारी तथा ठेकेदार कम्पनीका प्रतिनिधिमाथि मुद्दा दायर भएको छ ।

आरोपितमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती, इन्जिनियर मोहन मल्ल, विकास अधिकृत अनिस शाह, कानुन अधिकृत प्रकाश शाही, लेखापाल राजेन्द्र कठायत, नायब सुब्बा कृति थापा र ठेकेदार कम्पनीका प्रतिनिधि दिपक खत्री छन् । आयोगले ८१ लाख ५३ हजार ६३० रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवाना माग गरेको प्रवक्ता राजेन्द्र पौडेलले बताए । 

प्रकाशित मिति: सोमबार, असोज २७, २०८२  २०:५६
प्रतिक्रिया दिनुहोस्