प्रचण्ड निवासको दुई ट्रक पैसा खोज्दै पूर्वएइआइजी विरुद्ध प्रचण्डले हाले उजुरी 

सोमबार, असोज २७, २०८२

नेपाल प्रहरीका पूर्वएइआइजी देवेन्द्र सुवेदीविरुद्ध साइबर अपराधमा उजुरी परेको छ । माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले आइतबार सुवेदीविरुद्ध साइबर ब्युरोमा उजुरी दर्ता गराएको हो ।

सुवेदीले प्रचण्डको निवासबाट जेनजी आन्दोलनको २ दिनअघि २ करोड रुपैयाँ २ ट्रकमा निकालिएको दाबी गरेका थिए ।
सो दाबीविरुद्ध चरित्रहत्या र भ्रम फैलाइएको भन्दै साइबर ब्युरोमा उजुरी दिइएको प्रचण्डको सचिवालयका संयोजक गोविन्द आचार्यले जानकारी दिए ।

यसअघि सचिवालयले वक्तव्य जारी गर्दै सुवेदीलाई २ करोडको प्रमाण पेश गर्न चुनौती दिएको थियो । उजुरीमा डिजिटल माध्यममार्फत गरिएका यस्ता गलत प्रचारप्रसार साइबर कानुनविपरीत भएकाले त्यसबारे आवश्यक अनुसन्धान गरी कानुनी कारबाहीको माग गरिएको छ ।

प्रकाशित मिति: सोमबार, असोज २७, २०८२  १०:५६
प्रतिक्रिया दिनुहोस्