जेनजी आन्दोलनका सहिद परिवारलाई गोल्यान ग्रुपले निःशुल्क पढाईदिने

शनिबार, असोज २५, २०८२

भदौ २३ र २४ को जेनजी आन्दोलनमा सहिद भएकाहरूको सम्मानमा गोल्यान ग्रुपले सहयोग कार्यक्रम घोषणा गरेको छ । ग्रुपले सहिदका दाजुभाइ–दिदीबहिनी र सन्तानको अध्ययन तथा उज्ज्वल भविष्यको लागि १२ कक्षासम्म निःशुल्क शिक्षाको प्रबन्ध गरिदिने घोषणा गरेको हो । छात्रवृत्ति कार्यक्रममा सामेल बालबालिकाको रुचि र क्षमताअनुसार अतिरिक्त क्रियाकलापमा आवश्यक सहायता प्रदान गरिदिने पनि घोषणा गरेको छ ।

यसैगरी सहिदका आमा–बुबाका लागि स्वास्थ्य मिमामार्फत उनीहरूको दीर्घकालीन स्वास्थ्य र सुरक्षा सुनिश्चित गरिदिने पनि योजना ल्याएको छ । सहयोगले सन्तान गुमाएको पीडा मेटाउन नसक्ने भन्दै ग्रुपले यस क्षणमा पीडित परिवारसँग हातेमालो गर्न चाहेको बताएको छ ।

“कुनै पनि सहयोगले सन्तान गुमाएको पीडा मेटाउन सक्दैन । तर, यस क्षणमा पीडित परिवारसँग हातेमालो गरेर हामी दुःखमा साथ दिन चाहन्छौँ । यो कुनै परोपकार मात्र होइन, साझा जिम्मेवारी र सहानुभूतिसहितको प्रतिबद्धता हो । परिवर्तनका लागि उभिएका ती युवाहरू एक्ला थिएनन् र उनका परिवारहरू पनि अब एक्ला रहने छैनन् भन्ने बलियो सन्देश पनि हो,” गोल्याण ग्रुपद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

गोल्याण ग्रुपले प्रत्येक प्रभावित परिवारको गोपनीयता र मर्यादालाई उच्च प्राथमिकता दिने पनि बताइएको छ । उनीहरूको पीडा नितान्त व्यक्तिगत भएको भन्दै कुनै पनि नाम वा तस्बिर सार्वजनिक नगर्ने निर्णय गरेका पनि विज्ञप्तिमा उल्लेख छ । “हामीले सबै सहिद परिवारसँग सम्पर्क गरी उहाँहरूलाई सहयोग कार्यक्रममा जोडिरहेका छौँ,” विज्ञप्तिमा भनिएको छ ।

गोल्याण ग्रुपद्वारा जारी विज्ञप्ति
गोल्याण ग्रुपद्वारा जेनजी आन्दोलनका सहिद परिवारमा सहयोगको घोषणा
हरेक बालबालिकासँग एउटा सपना हुन्छ– एक दिन आमाबुबाको हेरचाह गर्ने, परिवारको आधार बन्ने र आवश्यकता पर्दा दाजुभाइ वा दिदीबहिनीलाई साथ दिने । बालबालिका आफ्नो सपनासँगै हुर्किँदै किशोरावस्था पार गरेर युवास्थामा पुगेका हुन्छन् । भदौ २३ को जेन–जी आन्दोलनमा हामीले गुमाएका ती युवाले पनि यस्तै सपना बोकेका थिए । उनीहरू आफ्नो परिवारलाई गौरवान्वित गराउन चाहने छोराछोरी, न्याय र समानताको लागि उठ्ने साथी र उज्यालो भविष्यको पक्षमा उभिएका नागरिक थिए ।

उनीहरूको जीवनमा अपार सम्भावना थियो । शिक्षक, इन्जिनियर, कलाकार, वैज्ञानिक र भावी नेतृत्वकर्ताको रूपमा उभिन सक्ने सक्षमता थियो । परिवारले माया र आशा दिएर हुर्काएका ती युवाहरु गुमाउनुको पीडा शब्दमा समेट्न कठिन छ । हामी अहिले राष्ट्रिय र व्यक्तिगत रुपमा दीवंगत युवाका परिवारसँगै शोकमा छौं । युवा आवाजले कति ठूलो असर पार्न सक्छ भन्ने कुराले हामीलाई सोच्न बाध्य तुल्याएको छ । गोल्याण ग्रुपले उनीहरूको साहसको सम्मान र प्रभावित परिवारप्रति सहानुभूति प्रकट गर्दै सहिद परिवारहरुमा समर्पित सहयोग कार्यक्रम घोषणा गरेको छ । हामी विनम्रतापूर्वक निम्न कुराहरु सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।
१. सहिदका दाजुभाइ–दिदीबहिनी र सन्तानको अध्ययन तथा उज्ज्वल भविष्यको लागि १२ कक्षासम्म निःशुल्क शिक्षाको प्रवन्ध गर्ने । छात्रवृत्ति कार्यक्रममा सामेल बालबालिकाको रुची र क्षमताअनुसार अतिरिक्त क्रियाकलापमा आवश्यक सहायता प्रदान गर्ने ।
२. सहिदका आमा–बुबाका लागि स्वास्थ्य बीमामार्फत उहाँहरुको दीर्घकालीन स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्ने ।
हामीलाई थाहा छ, कुनै पनि सहयोगले सन्तान गुमाएको पीडा मेटाउन सक्दैन । तर, यस क्षणमा पीडित परिवारसँग हातेमालो गरेर हामी दुःखमा साथ दिन चाहन्छौं । यो कुनै परोपकार मात्र होइन, साझा जिम्मेवारी र सहानुभूति सहितको प्रतिबद्धता हो । परिवर्तनका लागि उभिएका ती युवाहरू एक्ला थिएनन् र उनका परिवारहरू पनि अब एक्ला रहने छैनन् भन्ने बलियो सन्देश पनि हो ।

गोल्याण ग्रुपले प्रत्येक प्रभावित परिवारको गोपनियता र मर्यादालाई उच्च प्राथमिकता दिनेछ । उहाँहरुको पीडा नितान्त व्यक्तिगत हो । त्यसैले हामीले कुनै पनि नाम वा तस्बिर सार्वजनिक नगर्ने निर्णय गरेका छौं । हामीले सबै सहिद परिवारसँग सम्पर्क गरी उहाँहरुलाई सहयोग कार्यक्रममा जोडिरहेका छौं ।

नेपालको इतिहासमा भदौ २३ को जेन–जी आन्दोलन सचेत पुस्ताको साहस र त्यागको प्रतीकको रुपमा रहनेछ । यसले बलिदानको जगमा प्रगति र परिवर्तन संभव छ भन्ने स्मरण पनि दिलाउनेछ । सहानुभूति, समावेशिता र मानवताप्रतिको अविचलित विश्वासका साथ सहिद युवाहरुले देखेको परिवर्तनको सपनालाई अगाडि बढाउने नैतिक हामी सबैमा आइपुगेको छ ।

गोल्याण ग्रुप सबै सहिदहरुको सम्झना गर्न चाहन्छ । हामी भाग्य त लेख्न सक्दैनौं, तर करुणा, प्रतिवद्धता र सामूहिकतामा हाम्रो भविष्य भने कोर्न सक्छौं । हामी सबैले सम्झन जरुरी छ कि– त्यस दिन गुमेको हरेक अनुहारको एउटा परिवार छ, जसले हरेक बिहान बितिगएको उसको हाँसो सम्झिदै उठ्छ । एउटी आमा छिन्, जसले सन्तानको पाइला पर्खिबसेकी छिन् । बुवा छन्, जसले मौनतापूर्वक आफ्नो सन्तानप्रति गर्व गरिबसेका छन् । उनीहरुका दाजुभाइ वा दिदीबहिनी छन्, जसले अझै पनि बितेर गएका आफ्ना दाजुभाइ–दिदीबहिनीको सपना पछ्याइरहेका छन् ।

हामी उनीहरुका परिवारप्रति सहकार्यका हात अघि बढाउन चाहन्छौं । भावनात्मक रुपमा हामी सँगै छौं, सँगै उभिन चाहन्छौं । र, प्रतिवद्धतासँगै विश्वास व्यक्त गर्दछौंं–उनीहरुको सपना केबल सपनामा मात्र होइन, कर्ममा पनि जीवित रहिरहनेछ । 

प्रकाशित मिति: शनिबार, असोज २५, २०८२  ०८:०१
प्रतिक्रिया दिनुहोस्