सोसल मिडिया
युनिकोड
सप्तरीको सप्तकोसी नगरपालिकामा डुबानमा फसेका २० जनाको नेपाली सेनाले उद्धार गरेको छ।
सप्तकोसी नगरपालिका वडा नम्बर ६ स्थित बोचही पोखरीया टोल आसपासका उनीहरुको आइतबार उद्धार गरिएको नेपाली सेनाले जनाएको छ।
राजविराजस्थित बरख गणको सुरक्षा वेश सप्तरीबाट सहायक सेनानी सुकमन तामाङको नेतृत्वमा खटिएको १४ जनाको टोलीले बाढीमा फसेका अशक्त, वृद्ध–वृद्धा, महिला र बालबालिकासहित २० जनालाई उद्धार गरेको बरख गणका प्रमुख सेनानी सोवित बहादुर चन्दले जानकारी दिए।
उद्धार गरिएकालाई स्थानीय राष्ट्रिय आधारभूत विद्यालयमा राखिएको छ।
वर्षाका कारण सप्तरीका कोसी तटीय क्षेत्रमा अझै पनि बाढीको जोखिम कायम रहेको र नेपाली सेनाको उद्धार टोली आउन सक्ने जोखिमका लागि तयारी अवस्थामा रहेको प्रमुख सेनानी चन्दले जानकारी दिए।
बोचनी क्षेत्रमा बाढीको जोखिम बढेपछि प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको समन्वयमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले संयुक्त रूपमा उद्धार कार्य सञ्चालन गरेका थिए।
दुई दिनदेखि लगातार परेको अविरल वर्षाका कारण सप्तरीको सप्तकोशी नगरपालिका–६ स्थित बोचही पोखरिया बस्ती डुबानमा परेको छ।