सोसल मिडिया
युनिकोड
लामो समयदेखि बन्द जनकपुर चुरोट कारखाना (जचुका) पुनः सञ्चालनको माग गर्दै युवाहरूको समूहले मधेश प्रदेश उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हालाई ज्ञापनपत्र बुझाएको छ । कारखाना बन्द हुँदा मधेश प्रदेशको अर्थतन्त्र, सुर्ती खेतीमा आश्रित किसान र मजदुरको जीविकोपार्जनमा गम्भीर असर परेको उनीहरूको भनाइ छ ।
ज्ञापनपत्रमा जचुकाले विगतमा रोजगारी सिर्जना र किसानको आयस्रोतमा महत्त्वपूर्ण योगदान पु¥याएको तर सरकारी उदासीनता र राजनीतिक हस्तक्षेपका कारण बन्द भएको उल्लेख छ । ‘स्पष्ट औद्योगिक नीति र दीर्घकालीन योजनाको अभावले कारखाना बन्द भयो, जसले हजारौँ किसानको आयस्रोतमा धक्का पुगेको छ,’ ज्ञापनपत्रमा भनिएको छ ।
बन्द कारखानाले बेरोजगारी बढाएको, किसानको उत्पादन बिक्रीमा समस्या भएको र जीवनस्तर खस्किएको उनीहरूको चिन्ता छ । युवाहरूले कारखाना पुनः सञ्चालनका लागि मधेश प्रदेश सरकारले प्रयोग गरिरहेको स्थल खाली गर्न, विशेष अध्ययन टोली गठन गर्न र पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सरकारले अघि सारेको उद्योग बिक्री प्रक्रिया रोक्न माग गरेका छन् ।
कारखाना सञ्चालनले हजारौँ किसानको आर्थिक उन्नति, रोजगारी सिर्जना र कुल गार्हस्थ्य उत्पादनमा योगदान पुग्ने उनीहरूको विश्वास छ । शिव यादव, बब्लु गुप्ता, लक्ष्मी घिमिरे र रामराज पाण्डेले हस्ताक्षर गरेको ज्ञापनपत्रमा सहकारी, लघुवित्त र मिटरब्याजबाट पीडित किसान–मजदुरको समस्या, भूमिहीन सुकुम्बासीको समाधान, सहकारी पीडितको बचत फिर्ता, उखु किसानको अनुदान वृद्धि, वीरगञ्ज औजार कारखानाको व्यवस्थापन र जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिनुपर्ने माग पनि समेटिएको छ ।