आजदेखि वास्तविक बिलका आधारमा भन्सार लिने प्रणाली सुरु

बुधबार, असोज ८, २०८२

सरकारले सामान आयात गर्दा सन्दर्भ मूल्यका आधारमा लिँदै आएको प्रचलन परिवर्तन गरी वास्तविक बिलका आधारमा भन्सार लिने प्रणाली सुरु गर्ने भएको छ।

भन्सार विभागले आज बुधबारदेखि पाइलटिङका रूपमा अनलाइन भ्यालुएसन डेटाबेस नामक अनलाइन प्रणाली कार्यान्वयन गर्ने भएको हो।

यो अनलाइन प्रणाली बुधबार विराटनगरबाट कार्यान्वयनमा ल्याउने र त्यहाँको अनुभवका आधारमा देशका सबै भन्सारमा लागू गर्दै जाने भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले जानकारी दिए।

अर्थमन्त्री तथा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वर खनालले बुधबार विराटनगर गएर यो प्रणाली सुरु गर्नेछन्। यो प्रणालीले  आयातीत वस्तुको भन्सार मूल्य घोषणा सम्बन्धी तथ्यांक संकलन, स्टोर र विश्लेषण गर्छ।

यो प्रणाली भन्सार क्लियरेन्समा संसारभरि नै प्रयोग हुँदै आएको आशिकुडा प्रणालीमा आबद्ध हुने र यसले कुनै पनि वस्तुको ९० दिनको मूल्य गणना गरी आयातीत वस्तुको वास्तविक मूल्य देखाउने भण्डारीले जानकारी दिए।

भन्सारमा २०६४ सालदेखि नै सन्दर्भ मूल्यको चलन भए पनि २०७५ मा ‘भन्सार मूल्यांकन निर्देशिका’ मार्फत यसलाई अनिवार्यजस्तै गरी लागू गरिएको थियो।

अर्थमन्त्री खनालले राम्रा आयातकर्तालाई छानेर विश्वासिला व्यापारी (ट्रस्टेड ट्रेडर) सूची पनि बनाउन लागेका छन्। विभिन्न मापदण्डका आधारमा त्यस्ता व्यापारी छनोट गरिनेछन्।

प्रकाशित मिति: बुधबार, असोज ८, २०८२  ०७:४६
प्रतिक्रिया दिनुहोस्