अझै ८ हजार २२६ जना कैदीबन्दी फरार, कति फर्किए ?

आइतबार, असोज ५, २०८२

‘जेनजी’ प्रदर्शनका क्रममा तोडफोड र आगजनीपश्चात भागेका ८ हजार २२६ जना कैदीबन्दी फरार रहेका छन्। कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेले गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा देशभरका २८ कारागार तथा ९ वटा बालसुधार गृहबाट १४ हजार ५५५ कैदीहरु भागेको जानकारी दिए।

उनका अनुसार कारागार र सुधारगृहबाट भागेकामध्ये ६ हजार ३२८ जना कैदीबन्दी फर्किएको र ८ हजार २२७ जना अझै फरार रहेका छन्। उनले कारागारबाट १३ हजार ५९१ र सुधार गृहबाट नौ सय ६४ जना भागेका थिए ।

निर्देशक न्यौपानेले कतिपय गल्ती भयो भनेर आफैँ फर्किरहेका छन् भने कतिपय प्रहरीले पक्राउ गरेर ल्याइएको बताए। सम्पर्कमा नआएकाले खोजीकार्य भइरहेको निर्देशक न्यौपानेले बताए । सम्पर्कमा आएकामध्ये कारागारबाट भागेका पाँच हजार ९८७ तथा सुधारगृह तर्फका तीन सय ४१ जना रहेका छन् । 

आन्दोलनका क्रममा नेपाल प्रहरीले हिरासतमा रहेका करिब २ हजार आरोपीसमेत फरार रहेका जनाएको छ । उनीहरूको खोजी जारी रहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए। देशभर ३० हजार छ सय ३४ कैदीबन्दी रहेकामा आन्दोलनपछि हाल २१ हजार ९९९ जना मात्रै कैदी बन्दी रहेका छन् ।  

नख्खु कारागारबाट निस्किएका रास्वपा सभापति रवि लामिछाने पनि पुन: जेल फर्किएका छन्।
 

प्रकाशित मिति: आइतबार, असोज ५, २०८२  ०८:२१
प्रतिक्रिया दिनुहोस्