भागेका सात भाई कैदी झापामा च्याप्पै

मंगलबार, भदौ ३१, २०८२

जेनजी आन्दोलनका क्रममा मुलुकका विभिन्न कारागारबाट भागेका सातजना कैदी झापामा पक्राउ परेका छन् । 

यही भदौ २४ गते काठमाडौंको केन्द्रीय कारागार सुन्धारा, सुनसरीको झुम्का र कास्की कारागारबाट भागेका पाँच पुरुष र दुई महिला कैदीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रवीण श्रेष्ठले बताए । 

नियन्त्रणमा लिइएकामध्ये सुन्धारा कारागारबाट भागेका गौरादह नगरपालिका–५ की २८ वर्षीया रुकसार खातुन र वर्ष २८ कै एकसरा खातुन छन् । सरकारले भागेका कैदीलाई फर्किन सूचना जारी गरेपछि दुवै जना जिल्ला प्रहरी कार्यालयमा आफैँ सम्पर्कमा आएका थिए ।

कास्की कारागारबाट भागेका कर्तव्य ज्यान मुद्दाका कनकाई नगरपालिका–६ का ३३ वर्षीय दिनेश सोरेनलाई घरबाटै पक्राउ गरिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए । सोरेन घरमा आएर लुकिरहेको सूचना स्थानीयले प्रहरीलाई दिएका थिए ।

नेपालबाट भागेर दक्षिणी सीमा हुँदै भारतको किशनगञ्ज पुगेका २३ वर्षीय नवलकिशोर नाम भएका एक कैदीलाई भारतीय प्रहरीले पक्राउ गरेर केचनास्थित इलाका प्रहरी कार्यालयलाई बुझाइदिएको छ । उनी भारतीय नागरिक भएको बताइएको छ । 

सुनसरीको झुम्का कारागारबाट भागेका जबर्जस्ती करणी मुद्दाका कैदी कनकाई नगरपालिका–४ का ४५ वर्षीय बलबहादुर राईलाई परिवारले नै प्रहरीसमक्ष बुझाइदिएको छ । 

अरु दुईजना सुन्धारा कारागारबाट भागेका कैदी पक्राउ परेका हुन् । 

प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०८२  ११:०२
प्रतिक्रिया दिनुहोस्