सोसल मिडिया
युनिकोड
नेपालमा प्रयोगमा रहेका प्रमुख सामाजिक सञ्जाल र म्यासेन्जर सेवा बिहीबार राति १२ बजेदेखि बन्द हुने भएका छन् । सूचना तथा प्रसारण मन्त्रालयले २०८२ भदौ १९ गतेको मन्त्रीस्तरीय निर्णय र मन्त्रिपरिषद्को निर्देशनअनुसार इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईएसपीएएन)ले बिहीबार एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल तथा म्यासेन्जर प्लेटफर्म बन्द गर्न लागेको जानकारी दिएको हो ।
आईएसपीएएनका अनुसार फेसबुक, इन्स्टाग्राम, युट्युब, ट्विट्टर (एक्स), ह्वाट्सएप, फेसबुक मेसिन्जरलगायत २५ वटा सामाजिक सञ्जाल बन्द हुनेछन् । यीबाहेक स्न्यापच्याट, डिस्कोर्ड, थ्रेड्स, टेलिग्राम, वीच्याट, क्वोरा, रेड्डिट, पिन्टरेस्ट, टम्बलर, क्लबहाउस, मेवी, लाइन्, इमो, जालो, हम्रो पात्रो, मास्टोडन, रम्बल, सोल लगायतका प्लेटफर्म पनि बन्द हुने विज्ञप्तिमा उल्लेख छ ।
आईएसपीएएनले विज्ञप्तिमा भनेको छ, "यस कारण ग्राहक महानुभावहरूलाई पर्न गएको क्षति तथा असुविधाप्रति हामी क्षमाप्रार्थी छौँ ।" सेवा प्रदायकका नेटवर्कमा यी सामाजिक सञ्जाल बन्द हुने भए पनि केही प्रयोगकर्ताले अझै चलिरहेको अनुभूति गर्न सक्ने आईएसपीएएनले जनाएको छ ।
सरकारको निर्देशनअनुसार आईएसपीएएनले भदौ १९ गते राति १२ बजेदेखि सामाजिक सञ्जाल बन्द गर्ने प्रक्रिया थाल्ने जनाएको छ ।