सोसल मिडिया
युनिकोड
सङ्घीय निजामती विधेयकमा नायब सुब्बा (नासु) पदमा १० प्रतिशत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने व्यवस्था राख्ने सहमति भएको छ ।
राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको आजकाे बैठकमा निजामती सेवामा नायब सुब्बामा १० प्रतिशत खुला प्रतिस्पर्धाको व्यवस्था राख्ने सहमति जुटेको हो ।
यसअघि प्रतिनिधिसभाबाट पारित विधेयकमा नासु पदमा खुला पदपुर्ति नगर्ने व्यवस्था रहेको थियो । यस्तै यसअघि राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले प्रतिनिधिसभाले पारित गरेको सहसचिव पदको पदपूर्तिको व्यवस्था पनि उल्टाएर १० प्रतिशत खुला प्रतिस्पर्धा राख्ने सहमति गरेको थियो ।
यसैबीच निजामती कर्मचारीको अवकाश उमेरहद लागू गर्ने विषयमा राष्ट्रियसभामा राजनीतिक दलहरू विभाजित भएका छन् ।
सत्तारूढ दल नेकपा (एमाले) र नेपाली कांग्रेसले निजामती सेवा विधेयक ऐनमा रूपान्तरित भएको ५९ वर्षमा अवकाश हुने र अर्को वर्ष ६० वर्षको प्रावधान लागू गर्ने सरकारको प्रस्तावमा समर्थन जनाएका छन् । नेकपा (माओवादी) केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले भने यसअघि नै यो विषयमा निर्णय भइसकेको र भइसकेको निर्णय उल्ट्याउन नसकिने अडान लिएका छन् ।
समितिमा यही विषयमा निजामती विधेयक अड्किएको छ ।