Dashain Banner
Dashain Banner

भवन निर्माणमा दलबहादुर सहितका कर्मचारीले द्रब्य हत्याएपछि अख्तियारले लगायो सनासो

बिहीबार, भदौ १२, २०८२

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ठेकेदारविरुद्ध मुद्दा दायर गरेको छ।

तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती, इन्जिनियर मोहन मल्ल, कानुन अधिकृत प्रकाशकुमार शाही, सामाजिक विकास अधिकृत अनिश साह, लेखापाल राजेन्द्रबहादुर कठायत, जिन्सी शाखा प्रमुख तथा नायब सुब्बा कृतिबहादुर थापा, न्यू बिके–नहकुली जेभी तथा उक्त जेभीका साझेदारहरू न्यू बिके विल्डर एन्ड सप्लायर्सका प्रोप्राइटर गंगाकुमारी खड्का र नहकुली निर्माण सेवाका प्रोप्राइटर चित्रबहादुर बोहराविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो।

भेरी नगरपालिका वडा कार्यालय भवन निर्माणको ठेक्कामा अनियमितता गरेको आरोपमा  यिनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

यसैगरी, मुद्दामा ठेकेदार गंगाकुमारी खड्का र चित्रबहादुर बोहरालाई प्रतिवादी बनाइएको छ। आयोगले उनीहरूविरुद्ध ३६ लाख  २० हजार ५७८ रुपैयाँ बिगो माग गर्दै मुद्दा दायर गरेको हो।

उनीहरूले आर्थिक वर्ष ०८०-८१ मा भेरी नगरपालिकाको वडा नम्बर ६,९ र १० को वडा कार्यालय भवन निर्माणको ठेक्का प्रक्रियामा  सार्वजनिक खरिद कानुनविपरीतको कार्य गरी अनियमितता गरेको अनुसन्धानबाट खुल्न आएको अख्तियारको ठहर छ।

प्रकाशित मिति: बिहीबार, भदौ १२, २०८२  १९:३०
प्रतिक्रिया दिनुहोस्