सोसल मिडिया
युनिकोड
खानेपानी मन्त्री प्रदीप यादवले नेपाल हाइड्रोजियोलोजिकल एसोसियसनद्वारा आयोजित प्रथम नेपाल जलभूगर्भ सम्मेलन २०२५ को एक भव्य समारोहबीच समुद्घाटन गरेका छन्।
मन्त्री यादव द्वारा उद्घाटित कार्यक्रममा नेपालका साथै विदेशबाट पनि जल व्यवस्थापनसँग सम्बन्धित ख्यातिप्राप्त विज्ञ, नेपाल सरकारका विभिन्न निकायहरू, त्रिभुवन विश्वविद्यालय, गैरसरकारी संस्था तथा सरोकारवाला संस्थाहरूका प्रतिनिधिहरूको गरिमामय उपस्थिति रहेको छ।
कार्यक्रममा करिब १५० भू–वैज्ञानिक, भूमिगत जल विज्ञ, इञ्जिनियर, वातावरण विज्ञ लगायतको सहभागिता उल्लेखनीय रहेको छ। हालसालै जलवायु परिवर्तनका गहिरिँदै गएका प्रभावहरू र अनियन्त्रित जनसंख्या वृद्धिका कारण सतहमा रहेका जलस्रोतहरूमा अत्यधिक चाप परेको छ। यसको प्रत्यक्ष असर भूमिगत जल स्रोतको तीव्र दोहनका रूपमा देखिएको छ। जुन दीर्घकालीन रूपमा गम्भीर समस्या बन्न सक्छ। मन्त्री यादवले उक्त सम्मेलनबाट अनुसन्धानमा आधारित उपयोगी छलफलहरू हुनेछन् भन्ने अपेक्षा लिएको बताएका छन्। सम्मेलनबाट प्राप्त हुने सुझाव तथा निष्कर्षहरू सम्बन्धित निकायहरू प्रदेश तथा संघ सरकारलाई उपलब्ध गराई, विशेषगरी खानेपानीको अभावमा संकटग्रस्त क्षेत्रहरूको दीर्घकालीन समाधानमा योगदान पुर्याउनेमा आफूले विश्वास गरेको मन्त्री यादवले बताएका छन्।
खानेपानीको दिगो समाधान र समग्र विकासमा योगदान पुग्ने उद्देश्यले आयोजित यस सम्मेलनको पूर्ण सफलता र महत्वपूर्ण निष्कर्षहरू प्राप्त होऊन् भन्ने हार्दिक शुभकामना ब्यक्त गर्दै मन्त्री यादवले सम्मेलन आयोजनाले विशेष भूमिका निर्वाह गर्ने ठोकुवा समेत गरेका छन्।