सोसल मिडिया
युनिकोड
अध्यागमन विभागले वैदेशिक यात्रा गर्ने नेपालीहरुलाई अभयदान दिने गरिको निर्णय गरेको छ ।
उक्त निर्णय अनुसार अब विमान कम्पनीहरुबाट हाल हुँदै आएको ५ देखि १ प्रतिशतसम्म गर्ने गरिएको टिकट Overbooking हट्ने भएको हो । यसको प्रत्यक्ष लाभ वैदेशिक रोजगारमा जानेले उपभोग गर्ने भएका छन् । ट्राभल एजेन्सी सँगको मिलेमतोमा टिकटमा हुने चलखेल र भिजिट भिषाको सेटिङ सो निर्णयले भत्काउने भएको हो ।
त्यस्तै, अव शंकास्पद कागजात पेश गरी प्रस्थान गर्न खोज्ने यात्रुलाइ अफलोड गरी नेपाल प्रहरीलाई जिम्मा लगाइने भएको छ । यो निर्णयले चोरबाटोमा तगारो हालेको छ भने सेटिङमा काँडेतार लगाएको छ ।
अध्यागमनका नयाँ महानिर्देशक रामचन्द्र तिवारीको अध्यक्षतमा बिहिबार बसेको बैठकले गरेका निर्णयले भिजिट भिसामा विदेश भसाउने धन्धा चलाउनेलाई भने दिनुसम्मको तनाब दिएको छ । चोरबाटो र जस्केला बन्द गराएर तिवारीले अध्यागमन सुधार्ने जुक्ति निकालेर केही निर्णय गराएका छन्।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सेवा प्रदान गर्ने निकाय अध्यागमन कार्यालय, नेपाल प्रहरी, सिआईवी, सशस्त्र प्रहरी बल, नेपाल, अनुसन्धान विभाग, नेपाल नागरिक उड्डयन प्राधिकरण, ग्राउण्ड ह्याण्डलिंगको अधिकार पाएको नेपाल वायु सेवा निगम र त्रि अ वि बाट अन्तराष्ट्रिय उडान गर्ने वायु सेवा कम्पनीका प्रतिनिधिहरुलाई फड्के किनाराको साक्षी राखेर महानिर्देशक तिवारीले अध्यागमनको काँचुली फेर्ने गरीको निर्णय गराएका हुन् ।
विमानस्थलमा हाल देखिएका विकृति पूर्ण नियन्त्रण गर्ने, सो अनुसार सबैले सेवा प्रवाहमा सुधार गर्ने कसम खाएको बैठकमा सहभागी एक सदस्यले बताए ।
हाल विदेश प्रस्थान गर्ने यात्रुहरुको कागजात पेश गर्न नसक्दाका बखत अध्यागमनले मात्र प्रस्थान अनुमति दिन नसक्नुको कारण उल्लेख गरी सम्बन्धित यात्रुलाइ पत्र दिने गरेकोमा अब विमान कम्पनीहरुले बोर्डिंग पास उपलब्ध गराउन नसक्ने अवस्था भएमा सोको कारण खुलाई यात्रुलाइ लिखित रुपमा जानकारी दिने निर्णयलाई नयाँ व्यवस्थाका रुपमा परिभाषित गराईएको छ । यी निर्णय अक्षरश पालना हुन सके अध्यागमनका चालू विकृती पूरापूर हट्ने विश्वास गरिएको छ ।