Dashain Banner
Dashain Banner

तीनजना महायोगीले ४१८ बर्ष अघि जिवित समाधि लिएको सिद्धाश्रम उदासी मठ सफाई गरिने

शनिबार, साउन २४, २०८२

सबैको लागि, सधैंको लागि भन्ने मूल मन्त्रलाई केन्द्रमा राखेर परोपकारी काममा दत्त चित्त भएर लागिपरेको उप्रेती समाज सेवा समितिले अर्को पवित्र काम गर्ने भएको छ ।

आफ्ना पूर्वज महायोगी गोथल रामदास जी महाराज समेतले आजभन्दा ४१८ वर्ष अघि वि.सं १६६४ मा जीवित भू समाधि लिएको काठमाण्डौ बालाजु स्थित नानक मठको सफाई गरेर उप्रेती समाजले आध्यात्मिक काम गर्ने भएको हो। महायोगी गोथल रामदासको जन्म उप्रेती कुलमै भएको हो।

उप्रेती समाजका अध्यक्ष शोभित उप्रेतीको पहलमा भोली आइतबार विहान सात बजेदेखि नौ बजेसम्म सिद्धाश्रम उदासी मठको सफाई गरिने भएको हो। नानक मठबाट परिचित सिद्ध सिद्धाश्रम मठ पवित्र तपोभूमि रहेको अध्यक्ष उप्रेतीको भनाई छ । वरिष्ठ समाजसेवी उप्रेतीका अनुसार त्यहाँ सातसय बर्ष यतादेखिको अखण्ड ज्योती समेत बलिरहेको छ । अध्यात्ममा विशेष महत्व रहेको सो पावनभूमिको संरक्षण र सम्वद्धनमा सबै लागुपर्ने बताउँदै सबैलाई सरसफाई कार्यक्रममा सहभागी हुन अध्यक्ष उप्रेतीले अपील गरेका छन् ।1754710515472-1754710919.jpg

समाधि लिने महायोगीको नालीवेली

महायोगी श्री ब्रम्हहरि दासजी महाराजको जन्म वि.स. १४३२ बैशाख पूर्णिमाका दिन पूर्वी नेपालको सोलुखुम्बुमा भएको मानिएको छ। कतिपयले उहाँको जन्म भोजपुरमा भएको दाबी गरेका छन्। उहाँले वि.स.१६६४ मा २३२ वर्षको उमेरमा जीवित समाधि लिएको अभिलेखमा उल्लेख छ। उहाँले आफू सहित आफ्ना अन्य दुई जना शिष्यलाई पनि संगै जीवित समाधिमा सहभागी गराउनु भएको थियो। 

उहाँ संगै जीवित समाधि लिनेमा महायोगी श्री यथिराम दासजी महाराज र महायोगी श्री गोथलराम दासजी महाराज पनि हुनुहुन्थ्यो। महायोगी श्री यथिराम दासजी महाराजको जन्म वि.स. १५११ को शिवरात्रीका दिन भएको थियो। उहाँलाई केहीले कुइकेल वंशमा र केहीले निरौला वंशमा जन्म भएको दाबी गर्ने गरेका छन्। उहाँका बुबाको नाम चाँही मनोरथ उपाध्याय भएको अभिलेखमा उल्लेख छ। जीवित समाधि लिँदा उहाँ १५३ वर्षको हुनुहुन्थ्यो। 

जीवित समाधि लिने अर्का सिद्द पुरुष महायोगी श्री गोथलराम दासजी महाराजको जन्म चाँही उप्रेती कुलमा भएको थियो। उहाँको जन्म वि.स. १५१७ को जनै पूर्णिमामा भएको थियो। उहाँले १४७ वर्षको उमेरमा जीवित समाधि लिनु भएको थियो। तीनै जना महायोगीहरुले वि.स. १६६४ मा एकैदिन काठमान्डू बालाजु स्थित हालको नानक मठमा जीवित समाधि लिनुभएको अभिलेखमा उल्लेख छ।

प्रकाशित मिति: शनिबार, साउन २४, २०८२  ०९:२८
प्रतिक्रिया दिनुहोस्