प्रधानमन्त्री ओलीले गरे महोत्तरी र बारा जिल्लाका सुख्खाग्रस्त क्षेत्रको अवलोकन

शुक्रबार, साउन ९, २०८२

प्रधानमन्त्री केपी शर्मा ओली मधेस प्रदेशको महोत्तरी र बारा जिल्लाका सुख्खाग्रस्त क्षेत्रको अवलोकनका लागि पुगेका छन्। उनले हेलोकोप्टरमार्फत त्यस क्षेत्रको अवलोकन गरिरहेका हुन्

साउन ७ मा सरकारले मधेस प्रदेशका आठ वटै जिल्ला विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको थियो।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा मधेसका पर्सा, बारा, रौतहट, सर्लाही, सिरहा, महोत्तरी, सप्तरी र धनुषामा सुक्खा लागेको भन्दै संकटग्रस्त क्षेत्र घोषणा गरेको हो।

मधेसका जिल्लामा वर्षा कम भएका कारण जमिनमा पानीको पर्याप्त पुनर्भरण हुन नसकेको र अति दोहनले भूमिगत पानीको मुहान सुक्न गई सर्वसाधारणले उपभोग गर्ने खानेपानीको चरम अभाव हुनुको साथै नदी तथा कुलोहरुमा पानीको कमीले सिँचाइ प्रणालीमा समेत प्रभाव परेकाले संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ।

प्रदेश सरकारले यही मंगलबार संकटग्रस्त क्षेत्र घोषणा गर्न संघीय सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। त्यसअनुसार मधेसका जिल्लाहरूमा तीन महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गरिएको हो।

प्रधानमन्त्री ओलीले अनुगमन गरिसकेपछि सरोकारवालले बुझाएको प्रतिवेदन अनुसार राहतसहितको प्याकेज घोषणाको अपेक्षा गरिएको छ।

उनको निजी सचिवालयका उपसचिव विष्णुप्रसाद सुवेदीका अनुसार, प्रधानमन्त्री ओलीले आजै महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित विग्ही नदी पुलको उद्घाटन गर्नेछन्। सोही नगरपालिकाको वडा नं ६ मा नवनिर्मित प्रसूतिगृहको उद्घाटन र एक सभालाई सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ।

यसैगरी, महोत्तरीमै प्रधानमन्त्रीले जनकपुर–कुर्था–सम्सी सडकखण्डको रौजास्थित रातुखोला पुलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। बारा जिल्लामा भने उनी परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन र एक सभालाई सम्बोधन गर्ने कार्यक्रममा सहभागी हुनेछन्।

प्रकाशित मिति: शुक्रबार, साउन ९, २०८२  १३:१८
प्रतिक्रिया दिनुहोस्