सोसल मिडिया
युनिकोड
गृहमन्त्री रमेश लेखकले भिजिट भिषामा कुवेत जान लागेका ४७ महिला भारतबाट फर्काइएपछि त्यसबारे अनुसन्धान गर्न निर्देशन दिएका छन् ।
पक्राउ परेका महिलाहरूको विषयमा कडा अनुसन्धान गर्न मन्त्री लेखकले प्रहरीलाई निर्देशन दिएका हुन् ।
उक्त विषयमा गृहमन्त्री लेखकले मानव बेचबिखन व्यूरोलाई आवश्यक छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ । मन्त्री लेखकले वैदेशिक रोजगारीमा अवैध रूपमा जाने विषयको गहन अनुसन्धान गर्न निर्देशन दिएका छन् ।
भारतको राजधानी नयाँ दिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिषामा कुवेत जान लागेको ४७ जना नेपाली महिलाहरुलाई नेपाल फकाइएको थियो । दिल्ली विमानस्थलबाट एनओसीबिना कुवेत जान लागेका महिलाहरूलाई दिल्लीस्थित नेपाली दूतावाससितको समन्वयमा नियन्त्रणमा लिई स्थलमार्ग हुँदै बिहीबार राति रुपन्देही पुर्याइएको छ ।
दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत प्रहरी बरिष्ठ उपरीक्षक प्रकाश मल्लसहित दूतावासका कर्मचारीको टिमले महिलाहरूलाई सुनौली नाका हुँदै रुपन्देही पुर्याएर प्रशासनको जिम्मा लगाएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिएका छन् । प्रजिअ घिमिरेका अनुसार महिलाहरूलाई अहिले प्रहरीले काठमाडौं ल्याइरहेको छ ।