नागरिक उड्डयन प्राधिकरणको घट्यो बजेट, कहाँबाट कति गर्दैछ भेला ?

बुधबार, साउन ७, २०८२

नेपालको हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले चालू आर्थिक वर्ष २०८२÷८३ का लागि ३१ अर्ब ४० करोड ४७ लाख रुपैयाँको बजेट ल्याएको छ ।

प्राधिकरणले बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर चालू आर्थिक वर्षको लागि विनियोजित बजेटसहितको विवरणको जानकारी दिएको हो ।

प्राधिकरणले ल्याएको यो बजेटमा १२ अर्ब ३९ करोड ७० लाख पुँजीगत खर्च र ६ अर्ब १५ करोड ६७ लाख कार्यसञ्चालन गर्न तय गरेको छ । बाँकी १२ अर्ब ८५ करोड १० लाख रुपैयाँ वित्तीय व्यवस्थापनबाट जुटाउने भएको छ ।

प्राधिकरणको यो बजेट गत आर्थिक वर्ष २०८१/८२ को तुलनामा २ अर्ब ७१ करोडले कम हो । गत आवको लागि प्राधिरकणले ३४ अर्ब १२ करोड १६ लाख रुपैयाँको बजेट ल्याएको थियो ।

प्राधिकरणले चालू वर्षको लागि विनियोजन गरेको खर्चको स्रोत त्रिभुवन विमानस्थलसहितका आन्तरिक विमानस्थल नै भएको उल्लेख छ ।

प्राधिकरणले चालु आर्थिक वर्षमा विभिन्न विमानस्थलबाट १६ अर्ब आम्दानी हुने अनुमान गरेको छ । बजेट खर्च गर्न बाँकी स्रोतमा सरकारको सेयर लगानी, ऋण र अनुदान र बैंक ब्याजबाट जुटाउने उल्लेख छ ।

यस्ता छन् बजेटका स्रोतहरू :
प्राधिकरणको आफ्नै प्रक्षेपित आय : १६ अर्ब ९८ लाख
सेयर, ऋण तथा अनुदान : पाँच अर्ब ६० करोड १२ लाख
नेपाल सरकारबाट प्राप्त हुनुपर्ने : ८६ करोड ९० लाख
मूल्य अभिवृद्धि कर (भ्याट) प्राप्ति  : एक अर्ब ९५ करोड ६४ लाख
पेस्की मौज्दात : दुई अर्ब ५ करोड ७१ लाख
बैंक मौज्दात : चार अर्ब ९१ करोड ४० लाख

प्रकाशित मिति: बुधबार, साउन ७, २०८२  २१:१४
प्रतिक्रिया दिनुहोस्