Dashain Banner
Dashain Banner

भेटवाललाई भुट्न खोज्दा बराल आफैं जाकिए, प्रहरीले पाता कसेका को हुन् मीटरब्याजी बराल ?

मंगलबार, असार ३१, २०८२

अर्कालाई सिध्याउँछु भन्दा मान्छे आफैं कसरी जाकिन्छ भन्ने दृष्टान्त चाहिएमा राजकुमार बरालको खुराफाती वुझे मात्र पनि पर्याप्त हुन्छ ।

करोडौं रकम मिटरब्याजमा लगाएको अभियोगमा प्रहरीले हत्कडी लगाएका बराल नामूद मिटरब्याजी हुन् । 

जिल्ला प्रहरी परिसर, काठमाडौंले सिन्धुली घर भएका बराललाई दर्जनौको उजुरीपछि पाता कसेको हो।

बरालले धेरै व्यक्तिलाई महंगो ब्याजमा करोडौं लगानी गरेको खुलेपछि प्रहरीले पक्राउ गरेको हो। उनलाई अपराधिक लाभ मुद्दामा सोमबार डिल्लीबजारबाट पक्राउ गरिएको परिसरका एक अधिकारीले बताए।

प्रहरी स्रोतका अनुसार बरालले केही समय अगाडि ठेकदार मनोज भेटवालविरुद्ध उजुरी दिएका थिए। सोही आधारमा भेटवाल पक्राउ परे।

पछि भेटवालले आफुलाई बरालले मिटरब्याजमा पैसा लगाएको बताए। बरालविरुद्ध नै मिटरब्याजको उजुरी दिए। भेटवालले गृह मन्त्रालयसम्म पहुँच पुर्याएपछि बराल नै यतीबेला पक्राउ परेका छन्। भेटवाललाई भड्खालोमा जाक्छु भन्दा बराल उल्टै फन्दामा परेका हुन्।

उता भेटवाल भने छुटिसकेका छन्। बरालले भेटवालविरुद्ध करिब १० करोड रुपैयाँको चेक बाउन्स मुद्दा हालेका थिए।

प्रहरीले अब बरालमाथि छानविन अघि बढाएको छ। बरालविरुद्ध वर्षौंदेखि दर्जनौं उजुरी परे पनि उनी शक्ति केन्द्रको आडमा सजिलै उम्कँदै आएका थिए।

बरालविरुद्ध काठमाडौं उपत्यका लगायतका क्षेत्रमा मिटर ब्याजमा ऋण दिई गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको, चेकमार्फत धम्की दिने, व्यक्तिलाई अपहरण गरि थुन्ने र सहयोग नपुगेमा झुटा मुद्दा लगाउने जस्ता आरोपहरू छन्।

बरालका गतिविधिमा संलग्न व्यक्तिहरूमा पूर्वप्रशासक, पूर्वप्रहरीका उच्च तहका हाकिमहरु राजनीतिज्ञहरू र कानून व्यवसायीहरू समेत रहेको खुलेको छ।

बराललाई १५ दिनको म्याद लिएर अनुसन्धान थालिएको बताइएको छ।

कुनै समय बैदेशिक रोजगारीका लागि खाडी मुलुक कतार पुगेका उनी त्यहाँबाट फर्किएपछि उनले मिटरब्याजको धन्दा चलाउने थालेको रेकर्ड प्रहरीसँग छ । बरालले ठगी गरेको र दुख दिएको भन्दै आधा दर्जनले ठाडो उजुरी दिएका छन्।

प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२  १५:०४
प्रतिक्रिया दिनुहोस्