Dashain Banner
Dashain Banner

शिक्षक महासंघले दियो आन्दोलनको चेतावनी

सोमबार, असार ३०, २०८२

नेपाल शिक्षक महासंघले फेरि आन्दोलनको चेतावनी दिएको छ। 

सोमबार विज्ञप्ति जारी गरी महासंघले  विगतका भएका सहमतिहअनुसार विद्यालय शिक्षा विधेयकमा शिक्षक-कर्मचारीमैत्री प्रावधान समावेश गर्न राज्य पक्ष कति पनि गम्भीर र जिम्मेवार नदेखिएको भन्दै आन्दोलनको चेतावनी दिएको हो। 

विद्यालय शिक्षा विधेयकमाथि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा चलिरहेका छलफल र निर्णयबाट विगतका सहमतिहरूलाई बंग्याउने, तोडमोड गर्ने तथा आम शिक्षक-कर्मचारीको भावना, शिक्षण पेशाको मर्यादा र सबलीकरण विपरीतका प्रबन्ध अघि बढाउने प्रयत्न भएको विज्ञप्तिमा भनिएको छ। 

महासंघले राज्य पक्ष शासकीय दम्भ र शिक्षाकर्मीप्रतिको आग्रह एवं हेपाहा प्रवृत्तिप्रति लिप्त रहेको आरोप लगाएको छ। विद्यालय, विद्यार्थी, शिक्षक-कर्मचारी मैत्री अग्रगामी शिक्षा ऐन जारी हुने सम्भावना क्रमश: कमजोर हुँदै गएको निष्कर्षमा महासंघ पुगेको भन्दै नयाँ र कडा आन्दोलनको मोडमा पुगेको अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

महासंघले विद्यालय, विद्यार्थी र शिक्षक-कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै काठमाडौँ केन्द्रित २९ दिन शैक्षिक सडक आन्दोलन गरेको थियो। आन्दोलनपछि सरकारसंग भएको सहमतिमा असार १५ सम्ममा विधेयक ल्याइसक्नुपर्ने भनिएको थियो। तर असार सकिन लाग्दा पनि विधेयक समितिबाट पारित भएको छैन। 

प्रकाशित मिति: सोमबार, असार ३०, २०८२  ०९:४३
प्रतिक्रिया दिनुहोस्