सोसल मिडिया
युनिकोड
निर्वाचन आयोगले रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्ने निर्णय भएको छ । आयोगले विज्ञप्ति जारी गर्दै रुपन्देही–३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि आइतबार (असार २९) देखि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुने जनाएको हो ।
आयोगका अनुसार, देशभरबाट संकलित मतदाताको विवरणलाई आउँदो असार १६ गतेसम्म अद्यावधिक प्रक्रियामा लगिने छ ।
अद्यावधिक कार्यक्रमअन्तर्गत संकलित मतदाताको विवरण साउन १४ गते आयोगको वेबसाइटमा प्रकाशन गरिनेछ । “साउन १५ देखि २२ गतेसम्म मतदाताले नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिने, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको लागि सूचना दिने लगायतका कार्यहरू गर्ने गरी कार्यक्रम निर्धारण गरिएको छ,” आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
मतदाता नामावली अद्यावधिक प्रक्रिया पूरा गरी आगामी भदौ २५ गते अन्तिम मतदाता नामावली प्रकाशित हुने आयोगकी सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् ।