भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएका २० जनामध्ये १३ जनाको शव फेला

शुक्रबार, असार २७, २०८२

रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएका २० जनामध्ये १३ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकाअनुसार भेटिएकामध्ये एक जनाको मात्रै परिचय खुलेको छ ।

प्राधिकरणले नेपाल-चीन सीमाबाट करिब ३५ किलोमिटरमाथि तिब्बती क्षेत्रमा अवस्थित प्यूरेपू हिमनदीमा रहेको सुप्राग्लेसियल ताल अचानक फुट्दा बाढी आएको जनाएको छ ।

बढ्दो तापक्रम र हिमतालहरूको तीव्र विस्तारका कारण हिमताल विस्फोटका घटना बढ्दै गएका छन् भने हिम-बाढीले महत्त्वपूर्ण पूर्वाधारहरूमा गम्भीर क्षति पुऱ्याएको छ । हालैको रसुवाको हिमबाढीले रसुवागढीस्थित नेपाल-चीन मितेरी पुल, रसुवागढी सुक्खा बन्दरगाहको ठूलो हिस्सा र सो क्षेत्रका तीनवटा जलविद्युत् आयोजनामा क्षति पुऱ्याएको छ ।

भन्सार पासको प्रतिक्षामा रहेका ट्रक, कन्टेनर र विद्युतीय सवारीहरू बगाएको र डुबाएको छ । स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको करिब १६ किलोमिटर सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

रसुवागढी–केरुङ व्यापारिक मार्ग ठप्प हुँदा अरबौं रूपयाँ बराबरको आर्थिक क्षतिको आशंका गरिएको छ । सम्बन्धित मन्त्रालयहरू र स्थानीय तहहरूको सहयोगमा क्षतिको विस्तृत मूल्यांकन गर्ने कार्य अगाडि बढाइएको प्राधिकरणले जनाएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२  २१:३०
प्रतिक्रिया दिनुहोस्