सोसल मिडिया
युनिकोड
उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको आदेशमा रोकिएको पुरानो बसपार्कस्थित काठमाडौं भ्यू टावरको निर्माण कार्यलाई यथावत् अघि बढाउन आदेश जारी गरेको छ ।
न्यायाधीश प्रकाश खरेलको एकल इजलासले सोमबार उक्त आदेश दिएको हो ।
मेयर शाहले ५ लाख जरिवाना तिराएर नक्सा पास प्रक्रिया अघि बढाएको उक्त टावरको निर्माण कार्य नरोक्न अदालतले निर्देशन दिएको छ ।
यसै प्रकरणमा मेयर शाहले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि अनियमित नक्सा पास गरेको आरोप लगाउँदै कार्यालय प्रवेशमा रोक लगाएका थिए । तर, मेयरले गठन गरेको छानबिन समितिले गुरागाईंको कुनै गल्ती नभेटेपछि महानगरभित्र संवादहीनताको अवस्था सिर्जना भएको छ ।
मेयरको अडानका कारण महानगरले बजेट ल्याउनसमेत सकेको छैन । टावर निर्माणको ठेक्का जलेश्वर स्वच्छन्द बिकोइ बिल्डर्स प्रालिले पाएको थियो । गत माघमा महानगरले निर्माण कार्य रोक्न निर्देशन दिएपछि कम्पनीका सञ्चालकले अदालतमा रिट दायर गरेका थिए ।
अदालतको आदेशमा भनिएको छ, ‘निवेदकले सम्झौताअनुसारको व्यावसायिक भवन निर्माणका लागि प्राप्त नक्सा पासको अनुमति र निर्णय यथावत् रहेको अवस्थामा निर्माण कार्यलाई निरन्तरता दिनु उपयुक्त देखिन्छ। निवेदकको वैध अपेक्षालाई ध्यानमा राख्दै, सुविधा र सन्तुलनको दृष्टिकोणबाट गत माघ ९ गतेको महानगरको पत्र र निर्णय कार्यान्वयन नगर्न उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अन्तरिम आदेश जारी गरिएको छ ।’ यो रिटको अन्तिम सुनुवाइ हुँदा थप निर्णय हुने अदालतले जनाएको छ ।