सोसल मिडिया
युनिकोड
व्यावसायिक घरना जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजको मदिरा व्यापार ओरालो लागेको छ । ग्रुपको जेजिआई डिस्ट्रिब्युसन प्रालिको गतवर्ष सन् २०२४ मा १४ प्रतिशत घटेको छ । गत वर्ष ११ अर्ब ७१ करोड ९० लाख रुपैयाँको मदिरा व्यापार गरेको ग्रुपले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।
चालू आर्थिक वर्षको नौ महिनामा आठ अर्ब ८१ करोड ४० लाख रुपैयाँको मदिरा व्यापार गरेको ग्रुपले जानकारी दिएको छ । अघिल्लो वर्ष सन् २०२३ मा ग्रुपले १३ अर्ब ६२ करोड ५० लाख रुपैयाँको मदिरा व्यापार गरेको थियो ।
यस्तै २०२२ मा १६ अर्ब ९८ करोड ९० लाख रुपैयाँको मदिरा व्यापार गरेको थियो । २०२२ को तुलनामा २०२३ मा कम्पनीको मदिरा व्यापार घटेको छ । २०२१ मा कम्पनीले १४ अर्ब ५० करोड ३० लाख, २०२० मा ११ अर्ब ३६ करोड ६० लाख र २०१९ मा १३ अर्ब ३१ करोड २० लाखको मदिरा व्यापार गरेको थियो ।
आर्थिक मन्दीको असर उद्योगको मदिरा उत्पादनमा परेको ग्रुपले जनाएको छ । यस्तै सरकारले वर्षेनी बढाउँदै आएको अन्तःशुल्कले पनि लागत बढ्न गएको छ । २०२३ को नाफाको १५२ प्रतिशत लाभांशको रूपमा वितरित गरिएको थियो ।
जबकि आर्थिक वर्ष २०२३ मा वितरण गरिएको नाफाको ६९ प्रतिशत थियो । यसबीचमा जेजिआईले तीन अर्ब चार करोड रुपैयाँ ऋण रेटिङ गराएको छ । जेजिआई जावलाखेल ग्रुपको मदिरा तथा पेयपदार्थ वितरक कम्पनी हो ।
गतवर्ष कूल आम्दानीमा गोल्डेन ओक र ब्ल्याक ओकलगायत अन्य ब्राउन स्प्रिटको हिस्सा ६२ प्रतिशत रहेको छ । यस्तै भोड्का जिन र आइलालगायत ह्वाइट स्प्रिटको हिस्सा २८ प्रतिशत र बाँकी १० प्रतिशत हिस्सा बियरको रहेको ग्रुपले जानकारी दिएको छ ।
४० युपी मदिरामा जावलाखेलको देशभरि बलियो उपस्थिति छ । ४० युपीको मदिरा बजारमा गोल्डेन ओकको हिस्सा ठूलो रहेको कम्पनीले जनाएको छ । गत वर्ष गोल्डेन ओक र ब्लु डाइमन्ड जिनको हिस्सा ६६ प्रतिशत रहेको कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।
२०२३ मा ६२ प्रतिशत मात्र थियो । ग्रुपको मुलुकभर २४० डिलरका साथै पाँच वयेरहाउस आपूर्ति श्रृङखला रहेको छ । जावलाखेल ग्रुपको ४० युपी गोल्डेन ओक ब्राउन स्प्रिट सेग्मेन्टमा बलियो उपस्थिति रहेको छ । गत वर्ष कम्पनीको कूल आम्दानीमा गोल्डेन ओक, ब्ल्याक ओक, रोयल ट्रेजर र हिमालयन ब्रान्डीको ५९ प्रतिशत हिस्सा थियो ।
राज ब्रुअरीले उत्पादन गरिरहेको बडवाइजर बियरको उत्पादन गर्दे आएको छ । सन् २०१६ मा जावलाखेलले मदिरा व्यापारका लागि जेजिआई स्थापना गरेको हो ।
जेजिआईले जावलाखेल ग्रुपअन्तर्गतका हिमालयन डिस्टिलरी लिमिटेड, विजय डिस्टिलरी, एसियन डिस्टिलरी र रोलिङ रिभर डिस्टिलरीले उत्पादन गरेका विभिन्न ब्रान्डको मदिराका साथै राज ब्रुअरीको बडवाइजर बियर बिक्री वितरण गर्दै आएको छ ।
हिमालयन डिष्टिलरी नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ग्रुपको एक मात्र सूचिकृत कम्पनी हो । यो कम्पनीले लगानीकर्ताहरुलाई राम्रो लाभांश दिँदै आएको छ । जावलाखेल भित्रका अनुसन्धानलगायत आठ कम्पनीमा विजयबहादुर शाह र उनका छोरा राजबहादुर शाहको स्वामित्व छ ।
बिजयबहादुर ग्रुपका अध्यक्ष तथा प्रबन्ध सञ्चालक हुन् उनी मदिरा तथा पेयपदार्थ उत्पादनमा लागेको चार दशक बढी भइसकेको छ । जेजिआईमा विजयबहादुरको ५५ र राजबहादुर शाहको ४५ प्रतिशत हिस्सा छ ।
सन् १९७३ मा विजयबहादुरले जावलाखेल डिस्टिलरी स्थापना गरेर मदिरा व्यवसायमा प्रवेश गरेका हुन् । कम्पनीले पहिलोपटक सेतो मदिरा रुस्लान भोड्का उत्पादन सुरु गरेका थियो । हाल ग्रुपभित्र मदिरा र बियर उत्पादनका साथै मदिराको रिसर्च युनिट जेजिआई प्रालि छ ।
ग्रुपमा चार डिस्टिलरी, एउटा ब्रुअरी र एउटा अनुसन्धान इकाई (प्रविधि तथा अनुसन्धान केन्द्र) रहेको छ । समूहले नेपालको डिस्टिलरीमा आधारित उत्पादनहरूमा राम्रो बजार हिस्सा राखेको छ । जावलाखेल ग्रुप सरकारलाई बढी कर बुझाउने गरेका छ ।
व्यक्तितर्फ सबैभन्दा बढी कर तिर्नेमा जावलाखेल ग्रुपका अध्यक्ष विजयकुमार र राजबहादुर शाह भएका छन् । उनी पछिल्लो समय लगातार बढी व्यक्तिगत कर बुझाएर सरकारबाट सम्मानित हुँदै आएका छन् ।