हुँदै नभएको विद्यालयका नाममा ७ लाख ६० हजार झ्वांम पार्ने चार भाई डामिए

बिहीबार, असार १९, २०८२

डोल्पाको जिल्ला प्राविधिक कार्यालयका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर रविचन्द्र पजियारसमेत ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

हुँदै नभएको विद्यालयका नाममा भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

डोल्पाको तत्कालीन दुनै गाविस वडा नम्बर २ र ३ मा दुर्गा मावि प्रावि तिप्लाको भवन बनाउने भन्दै आर्थिक अनियमितता गरेको आरोपपत्रमा उल्लेख छ । जबकी उक्त विद्यालय नै छैन ।

हालको ठूलीभेरी नगरपालिका– ४ पर्ने तिप्लामा श्री लालिगुराँस आधारभूत विद्यालय मात्र सञ्चालनमा छ । तर, लालिगुराँस आधारभूत विद्यालयका नाममा आव २०६७/०६८ मा भवन निर्माणका लागि कुनै पनि बजेट विनियोजन नभएको र भवन पनि नबनेको पाइएको अख्तियारले जनाएको छ ।

आरोपपत्रमा पजियारसहित तत्कालीन लेखापाल मनिराम कुर्मी, दुर्गा प्राथमिक विद्यालयको २ कोठे भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष नन्दसिंह बुढा, समितिका कोषाध्यक्ष संगिता बुढालाई पनि प्रतिवादी बनाइएको छ ।

उनीहरुले काल्पनिक विद्यालय खडा गरी भवन निर्माणका नाममा ७ लाख ६० हजार रुपैयाँ अनियमितता गरेको अख्तियारले जनाएको छ । अनियमिततामा संलग्न चारै जनाविरुद्ध भ्रष्टचार निवारण ऐन २०५९ बमोजिम कैद र रकम असुल गर्न मागदाबी गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  २१:३७
प्रतिक्रिया दिनुहोस्