Dashain Banner
Dashain Banner

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ३६ लाख लिटर इन्धन भण्डारण क्षमताको डिपो तयार

बिहीबार, असार १९, २०८२

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पीआईए)मा ३६ लाख लिटर इन्धन भण्डारण क्षमताको डिपो निर्माण भएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै नेपाल आयल निगमले स्वदेशी परामर्श र लगानीमा नै पहिलोपटक यति ठूलो भण्डारण क्षमताको डिपो निर्माण गरिएको जानकारी दिएको हो ।

नेपालका विमानस्थलमा यसअघि निर्माण हुने निगमका डिपोहरू इन्डियन आयल कर्पोरेसनको सहयोगमा निर्माण हुँदै आएका थिए । निगमको इतिहासको ५५ वर्षमा पहिलोपटक स्वदेशी प्रविधि र निर्माण कम्पनीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको डिपो निर्माण गरेको हो ।

निगमका परियोजना प्रमुख प्रदीप यादवले, “हवाई इन्धन डिपो बनाउने परनिर्भरता तोड्न सफल भएका छौँ । साथै हामी आफैँ डिपो बनाउन सक्षम छौँ भन्ने सन्देश दिन पनि सफल भएको” बताए । डिपो निर्माणमा ८६ करोड खर्च भएको छ । अहिले निर्माण भएको डिपोमा अत्याधुनिक प्रविधिसमेत जडान गरिएको यादवले बताए । साउन दोस्रो साताबाट सञ्चालनमा आउने सो डिपोमा इन्धन भर्न स्वचालित मेसिन (अटोमेसन) समेत जडान गरिएको छ ।

निगमले नै सुरक्षाका लागि चार हजार लिटर क्षमताको फोम स्टोरेज, २३० हर्सपावर क्षमताको दुईवटा फायरफाइटिङ डिजल पम्प, १५ हर्सपावर क्षमताको जक्की पम्प र आठ इञ्चको पाइपसमेट जडान गरिएको जनाएको छ ।

यसबाहेक डिपो सुरक्षामा उच्च सतर्कता अप्नाउनका लागि एक हजार २०० किलोलिटर क्षमताको दुईवटा अलग्गै पानी ट्यांकी निर्माण गरिएको यादवले बताए ।

२०८० साउन पहिलो साताबाट सुरु भएर निर्माण सम्पन्न भएको यो डिपो सञ्चालनमा आएपछि इन्धन भर्न अर्को विमानस्थल धाउनुपर्ने बाध्यता हट्नेछ ।

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  २०:४०
प्रतिक्रिया दिनुहोस्