सोसल मिडिया
युनिकोड
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पीआईए)मा ३६ लाख लिटर इन्धन भण्डारण क्षमताको डिपो निर्माण भएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै नेपाल आयल निगमले स्वदेशी परामर्श र लगानीमा नै पहिलोपटक यति ठूलो भण्डारण क्षमताको डिपो निर्माण गरिएको जानकारी दिएको हो ।
नेपालका विमानस्थलमा यसअघि निर्माण हुने निगमका डिपोहरू इन्डियन आयल कर्पोरेसनको सहयोगमा निर्माण हुँदै आएका थिए । निगमको इतिहासको ५५ वर्षमा पहिलोपटक स्वदेशी प्रविधि र निर्माण कम्पनीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको डिपो निर्माण गरेको हो ।
निगमका परियोजना प्रमुख प्रदीप यादवले, “हवाई इन्धन डिपो बनाउने परनिर्भरता तोड्न सफल भएका छौँ । साथै हामी आफैँ डिपो बनाउन सक्षम छौँ भन्ने सन्देश दिन पनि सफल भएको” बताए । डिपो निर्माणमा ८६ करोड खर्च भएको छ । अहिले निर्माण भएको डिपोमा अत्याधुनिक प्रविधिसमेत जडान गरिएको यादवले बताए । साउन दोस्रो साताबाट सञ्चालनमा आउने सो डिपोमा इन्धन भर्न स्वचालित मेसिन (अटोमेसन) समेत जडान गरिएको छ ।
निगमले नै सुरक्षाका लागि चार हजार लिटर क्षमताको फोम स्टोरेज, २३० हर्सपावर क्षमताको दुईवटा फायरफाइटिङ डिजल पम्प, १५ हर्सपावर क्षमताको जक्की पम्प र आठ इञ्चको पाइपसमेट जडान गरिएको जनाएको छ ।
यसबाहेक डिपो सुरक्षामा उच्च सतर्कता अप्नाउनका लागि एक हजार २०० किलोलिटर क्षमताको दुईवटा अलग्गै पानी ट्यांकी निर्माण गरिएको यादवले बताए ।
२०८० साउन पहिलो साताबाट सुरु भएर निर्माण सम्पन्न भएको यो डिपो सञ्चालनमा आएपछि इन्धन भर्न अर्को विमानस्थल धाउनुपर्ने बाध्यता हट्नेछ ।