सोसल मिडिया
युनिकोड
भिजिट भिसा प्रकरणमा छानबिन गर्न सरकारले बनाएको समिति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अस्वीकार गर्ने भएको छ।
सोमबार सरकारद्वारा पूर्वमुख्य सचिव शंकरदास बैरागीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो। दोषीहरूको पहिचान र कारबाही गर्ने भनी बनाइएको उक्त समिति रास्वपाले अस्वीकार गरेको हो।
रास्वपाले उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गरेको थियो। तर, प्रशासनिक खालको समिति बनाइएका कारण अस्वीकार गरेको रास्वपाको जिकिर छ।
आफूहरूले उक्त समितिलाई अस्वीकार गर्ने निर्णय गरेको रास्वपाका एक सांसदले जानकारी दिए। ती सांसदकाअनुसार रास्वपाले संसदमा जारी अवरोधलाई निरन्तरता दिने तयारी गरेको छ।
पछिल्लो समय भिजिट भिसा प्रकरणले ठूलो विवाद उठाएको छ। गृहमन्त्री रमेश लेखकको नाम मुछिएपछि रास्वपाले यस विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने र गृहमन्त्रीले राजीनामा दिनुपर्ने कुरा बारम्बार उठाउँदै आएको थियो।