कांग्रेसलाई लगातार तीनदिन जुठो, शास्त्रीको निधनले स्तब्ध 

बुधबार, असार ४, २०८२

नेपाली कांग्रेसले पूर्वमन्त्री एवम् पार्टीका पूर्वकेन्द्रीय सदस्य ढुण्डिराज शास्त्रीको निधनमा तीनदिन शोक मनाउने निर्णय गरेको छ ।

कांग्रेसको आज बसेको आकस्मिक केन्द्रीय कार्यसमिति बैठकले उनको निधनमा शोक प्रस्ताव पारित गर्दै यही असार ४, ५ र ६ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

बैठकले असार ५ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३औँ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र स्वर्गारोहणको १३औँ दिनमा सम्बन्धित जिल्लामा शोकसभा आयोजना गर्ने निर्णय गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

नेता शास्त्रीको काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा ८९ वर्षको उमेरमा यही असार २ गते निधन भएको थियो । बैठकमा नेता शास्त्रीको आत्माको चीरशान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरिएको पौडलले बताए ।

विद्यार्थी जीवनदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका स्व शास्त्रीले प्रजातन्त्र पुनःस्थापनाको सङ्घर्ष र आन्दोलनका क्रममा जेल जीवन र लामो समय भारत प्रवासमा जीवन बिताएका थिए । 
 

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  १२:४९
प्रतिक्रिया दिनुहोस्