रास्वपाको पलेंटी पेलेर सभामुखले चलाए सदन, राप्रपाले फर्कायो पिठ्यू 

सोमबार, असार २, २०८२

प्रतिनिधिसभाको आजको बैठक पनि दुई विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अवरोध गरेका छन् । सभामुख देवराज घिमिरेले बैठक अगाडि बढाएलगत्तै ती दलका सांसदहरू आसनबाट उठेका थिए ।

सभामुखले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोल्न समय दिएका थिए । उनले अवरोध भएका बेला संसद् नचलाउन आग्रह गरे । उनले अवरोध कायम रहेसम्म बैठक चलाए राप्रपाले बैठक बहिष्कार गर्ने बताए । उनले बहिष्कार गरेको दिनको बैठक भत्ता नलिनेसमेत बताए ।

लिङ्देनले बोलेपछि सभामुखले रास्वपाका प्रमुख सचेतक सन्तोष परियारलाई बोल्न समय दिए । उनले बल प्रयोग गरेर सदन चलाउन नसकिने बताए । उनले गृहमन्त्रीमाथि छानबिन हुनुपर्ने राजीनामा दिनुपर्ने बताए ।

तर, सभामुख घिमिरेले अवरोधका बीचमै बैठक अगाडि बढाएका छन् । अहिले रास्वपाका सांसदहरूले नारावाजी गरेका छन् भने राप्रपाले बहिष्कार गरेको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र त्यसबारे उच्चस्तरीय छानबिन हुनुपर्ने माग राखी रास्वपा र राप्रपाले बैठक अवरोध गर्दै आएका छन् ।

प्रकाशित मिति: सोमबार, असार २, २०८२  १३:५६
प्रतिक्रिया दिनुहोस्