पाँचथरमा पुल भाँचियो, सिंहदरबारमा बन्यो छानबिन समिति

आइतबार, असार १, २०८२

मेची राजमार्गको फिदिम–ताप्लेजुङ सडक खण्डमा पर्ने फिदिम–४ र हिलिहाङ्-७ जोड्ने हेवा खोलामा निर्माणाधीन पुल भाँचिएको घटनाबारे छानबिनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले समिति गठन गरेको छ ।

मन्त्री देवेन्द्र दाहालले मन्त्रीस्तरीय निर्णय गरि पाँच सदस्यीय अध्ययन तथा छानबिन समिति गठन गरेका हुन् ।

सडक विभागका उपमहानिर्देशक ललिजन खनालको संयोजकत्वमा गठित समितिमा संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमकका प्रमुख विनोदकुमार मौवार, सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जीवेन्द्र मिश्र, दमक डिभिजन प्रमुख श्यामकुमार यादव र सडक विभागका सीडीई अमितकुमार बर्मा सदस्य रहेका छन् ।

समितिलाई सो पुल भत्कनुको कारण, भविष्यमा यस्ता घटना हुन नदिन अपनाउनु पर्ने सुझाव तथा सो स्थानमा तत्काल अस्थाई रुपमा यातायात सञ्चालन गर्ने विषयमा समेत स्थलगत अध्ययन तथा छानबिन गरि ७ दिन भित्रमा प्रतिवेदन पेस गर्ने कार्यभार दिइएको छ । समितिले आइतबार देखिनै काम सुरु गरिसकेको छ ।

मन्त्री दाहालले उक्त अप्रत्याशित घटनाप्रति दुःख व्यक्त गर्नुको साथै घाइते मजदुरहरुको ज्यान गएकोप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।
उनले उपचारात घाइतेहरुको उपचारमा कुनै कमि हुन नदिने गरि व्यवस्था मिलाउन मन्त्रालयका सचिव केशवकुमार शर्मा तथा सडक विभागका महानिर्देशक डा. विजय जैसीलाई निर्देशनसमेत दिएका छन् ।
 

प्रकाशित मिति: आइतबार, असार १, २०८२  १२:५८
प्रतिक्रिया दिनुहोस्