Dashain Banner
Dashain Banner

मधेश प्रदेशका सरकारी अड्डामा अनियमितताको जालो, दायर भयो अर्को मुद्दा 

बिहीबार, जेठ २९, २०८२

मधेश प्रदेशका सरकारी अड्डामा अनियमितताको जालो झन्-झन् जेलिएको छ। यसको ज्वलन्त उदाहरण मधेश प्रदेशका अड्डाको अनियमितताको छानबिन गर्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गर्नु हो। 

आयोगले आजै मात्र सर्लाहीको चक्रघट्टा गाउँपालिकामा सौर्य बत्ती जडानमा साढे दुई करोड भ्रष्टाचार गरेको आरोपमा पूर्वअध्यक्ष विक्रम यादवसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ मा गाउँपालिकाबाट सौर्यबत्ती जडान कार्यक्रमका लागि छुट्याइएको बजेट टुक्रा टुक्रा पारी खरीद गर्ने कार्य गरेर अनियमितता भएको आरोपमा बिहीबार विशेष अदालतमा मुद्दा दायर भएको हो ।

वार्षिक कार्यक्रममा वडा नम्बर १ देखि सम्मको लागि सौर्य बत्ती जडान गर्ने योजनामा ९ वटा शीर्षकमा २ करोड १६ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । 

तर पोल खरिद, सोलार प्यानल खरिद, लाइट/तार/नटबोल्ट खरिद, ब्याट्री खरिद र चार्ज कन्ट्रोलर खरिद तथा इन्स्टलेसनसमेतको लागि बदनियत राखी टुक्राई ५ वटा प्याकेजको छुट्टाछुट्टै गरी स्वीकृत विनियोजित बजेट भन्दा २ करोड ५३ लाख रुपैयाँ बढी रकम अनिमयतिता गरेको आरोपपत्रमा दाबी गरिएको छ ।

अख्तियारले पूर्वगाउँपालिका अध्यक्ष यादवसहित तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालबाबु प्रसाद साह, लेखा अधिकृत शिव शंकर प्रसाद कुशवाहा, लेखापाल संजय कुमार ठाकुर, जिन्सी शाखा प्रमुख राम कैलाश राय यादव, सब–ईन्जिनियरहरु सन्तोष राय र राजु राय, स्काई राइज ट्रेडिङका प्रोप्राइटर जयप्रकाश यादव, एस के स्टोरकी रंजुकुमारी शाह र जियो टेक्निकलकी संगीता कुमारीलाई प्रतिवादी बनाएको छ ।

त्यस्तै अख्तियारले आजै साँझ मधेश प्रदेशका सांसद सरोजकुमार सिंहलाई अख्तियारले नियन्त्रणमा लिएको छ। उपभोक्ता समितिसँग बुझेको कमिसन श्रीमती र स्वकीय सचिवको खातामा राखेको आरोपमा उनी समातिएका हुन्। 
 

प्रकाशित मिति: बिहीबार, जेठ २९, २०८२  २०:२१
प्रतिक्रिया दिनुहोस्