Dashain Banner
Dashain Banner

बयानका लागि अख्तियारले बालेनलाई पठायो निम्तो, कान्छो सहसचिव जाकिंदै

मंगलबार, जेठ २७, २०८२

अख्यितार दुरुपयोग अनुसन्धान आयोग काठमाडौँ महानगरपालिका भित्र छिरेको छ। मेयर बालेन्द्र साहका कारण आधा दर्जन विभागीय प्रमुखसहित करिब डेढ दर्जन कर्मचारी आयोगमा साविती बयान दिन पुगेका छन्। बयानको काम चल्न थालेको धेरै बितिसक्यो। अख्तियारले मैझारो बयान लिएर विशेष अदालतमा मुद्दा दर्ता गर्ने अन्तिम तयारी गरेको छ। 

मेयर साहका स्वकीय सचिव भूपदेव साह, सहरी योजना आयोगका अध्यक्ष सुमननरसिंह राजभण्डारी, सल्लाहकार शंकरप्रसाद पाण्डे, व्यवस्थापन सल्लाहकार कुमार व्यञ्जनकार, सहरी योजना आयोगका विज्ञ र विज्ञ सुनील लम्साल, शैलेन्द्र झा, सहायक विज्ञ स्मित पोखरेल, सुदीप ढकाल, धीरज जोशीलगायतको दबाबको कारण विभागीय प्रमुख र कर्मचारी अख्तियारको कठघरामा उभिनु परेको हो। 

अख्तियारले स्वयम् मेयर साह समेतलाई बयानका लागि डाकेको छ। आयोगले अघिल्ला प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसँग समेत बयान लिएको छ । नीतिगत रुपमा निर्णयकर्ताको भूमिकामा नरहेका सहरी योजना आयोगका अध्यक्ष राजभण्डारी र सल्लाहकार पाण्डेले विज्ञ र सहायक विज्ञमार्फत विभागीय प्रमुखलाई दबाब दिन लगाएर कर्मचारीलाई नचाहिँदो निर्णय गर्न बाध्य पारेको आरोप छ ।

सोही बाध्यताको कारण विभागीय प्रमुखहरूले बयान दिइरहेका छन् । मेयरको गौरव र स्वर्णिय योजनाको कार्यक्रममा भ्रष्टाचार हुने गरेको छ । सोही विषयमा अख्तियारले सूक्ष्म अध्ययन गरिरहेको छ । उच्चस्रोतका अनुसार हाल मेयर सचिवालय र सल्लाहकारको कारण आधा दर्जन योजनामा भ्रष्टाचार भएको भन्दै अनुसन्धान शुरु गरेको छ । सामाखुसी ठेक्कामा एक कम्पनीलाई कालोसूचीमा राखेको आरोपमा चार विभागीय प्रमुखसहित ७ जनाले बयान दिएका छन् । 

जसमा परियार सहित नवराज ढकाल लगायतका कर्मचारी विरुद्द अख्तियारले मुद्दा दायर गर्ने निश्चित जस्तै रहेको श्रोतको भनाई छ। कान्छा सहसचिवका रूपमा चिनिएका परियारलाई सहसचिव बनेको छोटो अवधिमै मुद्दा लाग्ने भएको हो। यस अघि महानगरकै प्रमुख प्रशासकीय अधिकृत रहँदाका बखत कैफियत गरेको ठहर गर्दै सहसचिव रुद्रसिङ्ग तामाङ्गलाई अख्तियारले मुद्दा दायर गरेको थियो। उनले सफाई पाईसकेका छन्। परियार अहिले सूचना विभागको महानिर्देशक छन्। 

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  १४:१२
प्रतिक्रिया दिनुहोस्