सोसल मिडिया
युनिकोड
नेकपा (एकीकृत समाजवादी) ले पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध लगाइएको भ्रष्टाचारको मुद्दालाई राजनीतिक प्रतिशोधको संज्ञा दिँदै कानुनी लडाइँ लड्ने निर्णय गरेको छ ।
बिहीबार पार्टी कार्यालयमा बसेको अनौपचारिक बैठकले यो मुद्दा नियतवश र राजनीतिक पूर्वाग्रहका आधारमा दायर गरिएको निष्कर्ष निकालेको उपाध्यक्ष प्रकाश ज्वालाले बताए ।
ज्वालाले भने, ‘हाम्रो पार्टी र नेताहरूमाथि विगतदेखि नै विभिन्न प्रहार हुँदै आएका छन् । तिनै तत्त्वहरूले अहिले अध्यक्ष नेपालमाथि भ्रष्टाचारको मुद्दा दायर गरेर षड्यन्त्र रचिएको छ । यो स्पष्ट रूपमा राजनीतिक प्रतिशोध हो । हामी यसको कडा प्रतिवाद र विरोध गर्छौँ ।’
उनले पार्टी र नेताहरू मुद्दाबाट नभाग्ने बरु अदालतबाट क्लिनचिट लिएर फर्किने दृढता व्यक्त गरे । ‘हामीले कहिल्यै सार्वजनिक सम्पत्तिमा हात हालेका छैनौं । त्यसैले हामी निर्धक्क अदालती प्रक्रियामा जान्छौं र क्लिनचिट लिएर फर्किन्छौं,’ ज्वालाले थपे । उनले यो मुद्दाका सम्बन्धमा कानुन व्यवसायीहरूसँग छलफल भएको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्ण विवरण सार्वजनिक गरेपछि अदालतमा जाने तयारी भइरहेको जानकारी दिए । साथै, यो मुद्दाले भविष्यमा अन्य काण्डहरूका लागि पनि नजिर स्थापित गर्ने उनको भनाइ छ । ‘यो मुद्दाले ठुला काण्डहरूमा संलग्नहरूलाई पनि कारबाहीको दायरामा ल्याउने बाटो खोल्नेछ। षड्यन्त्र रच्नेहरू एकदिन आफैंले खनेको खाल्डोमा पर्नेछन्,’ज्वालाले भने ।
पार्टी अध्यक्ष नेपालले पनि संक्षिप्त प्रतिक्रिया दिँदै यो मुद्दालाई राजनीतिक प्रतिशोधको हिस्सा भएको बताए । ‘हामी नबिराउने, नडराउने,’ उनले भने । एकीकृत समाजवादीले यो मुद्दालाई गम्भीर रूपमा लिँदै कानुनी र राजनीतिक रूपमा सामना गर्ने रणनीति बनाएको छ ।