Dashain Banner
Dashain Banner

सत्ताधारीले विपक्षीलाई गलाएर हत्तु पार्ने, प्रतिपक्षीले सरकारलाई निघुरमुन्टी बनाउने

बुधबार, जेठ २१, २०८२

भिजिट भिषा प्रकरणले संसद बन्धक बनेको लामो समय भयो। जेठ १५ बाहेका त्यस अघि र त्यसपछिका दिनमा सदन लगातार बन्दै जस्तो छ।  दिनहुँ किस्ता-किस्तामा बैठक बस्ने समय सार्दैमा सभामुखलाई ठिक्क छ। सत्ताधारी कांग्रेस-एमाले विपक्षीलाई गलाएर हत्तु पार्ने रणनीतिमा छन्। विपक्षी दल सरकारलाई निघुरमुन्टी बनाउने ध्याउन्नमा छ। यसको मार भने बजेटमाथिको छलफलमा परेको छ। 

भिजिट भिसा प्रकरणले सदनको अवरोध खुल्न सकेको छैन । आज बुधबारका लागि बोलाईएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित् गरिएको छ। विपक्षीहरुले यस प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामालाई बटमलाईन बनाएका छन् । हिजो मंगलबारको हविगत पनि उही नै भयो। 

विपक्षीहरुले गृहमन्त्री लेखकको राजीनामासँगै यो प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ र तत्काल उच्चस्तरीय छानबिन समिति बन्नुपर्ने अडान राखेका छन् । सत्ता पक्षले भने विपक्षीहरुको एउटापनि माग पूरा नगर्ने अडान लिएको छ । यही कारण आजको प्रतिनिधिसभाको बैठक प्रभावित हुन पुग्यो । अर्को बैठक भोलिलाई तय गरिएको छ ।

यता, प्रमुख सत्तारूढ दल नेकपा (एमाले) ले भने गृहमन्त्री लेखकको राजीनामा नआउने जवाफ दिएको छ । एमाले प्रमुख सचेतक महेश बर्तौलाले गृहमन्त्री लेखकको राजीनामा माग्ने विपक्षीहरुको माग पूरा नहुने जवाफ दिए । संसद् भवन परिसरमा मिडियाकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले विपक्षीहरुले राखेका दुवै माग पूरा नहुने अडान दोहोर्याए । उनले भने,‘गृहमन्त्रीले राजीनामा दिनुपर्ने कुरै छैन। राजीनामा आउँदैन। छानबिन समिति पनि बनाउन आवश्यक छैन।’ उनले विपक्षीहरुलाई आफ्नो अडानबाट ब्याक हुन आग्रह गरे । 

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  २१:२२
प्रतिक्रिया दिनुहोस्