सत्ताधारीले विपक्षीलाई गलाएर हत्तु पार्ने, प्रतिपक्षीले सरकारलाई निघुरमुन्टी बनाउने

बुधबार, जेठ २१, २०८२

भिजिट भिषा प्रकरणले संसद बन्धक बनेको लामो समय भयो। जेठ १५ बाहेका त्यस अघि र त्यसपछिका दिनमा सदन लगातार बन्दै जस्तो छ।  दिनहुँ किस्ता-किस्तामा बैठक बस्ने समय सार्दैमा सभामुखलाई ठिक्क छ। सत्ताधारी कांग्रेस-एमाले विपक्षीलाई गलाएर हत्तु पार्ने रणनीतिमा छन्। विपक्षी दल सरकारलाई निघुरमुन्टी बनाउने ध्याउन्नमा छ। यसको मार भने बजेटमाथिको छलफलमा परेको छ। 

भिजिट भिसा प्रकरणले सदनको अवरोध खुल्न सकेको छैन । आज बुधबारका लागि बोलाईएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित् गरिएको छ। विपक्षीहरुले यस प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामालाई बटमलाईन बनाएका छन् । हिजो मंगलबारको हविगत पनि उही नै भयो। 

विपक्षीहरुले गृहमन्त्री लेखकको राजीनामासँगै यो प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ र तत्काल उच्चस्तरीय छानबिन समिति बन्नुपर्ने अडान राखेका छन् । सत्ता पक्षले भने विपक्षीहरुको एउटापनि माग पूरा नगर्ने अडान लिएको छ । यही कारण आजको प्रतिनिधिसभाको बैठक प्रभावित हुन पुग्यो । अर्को बैठक भोलिलाई तय गरिएको छ ।

यता, प्रमुख सत्तारूढ दल नेकपा (एमाले) ले भने गृहमन्त्री लेखकको राजीनामा नआउने जवाफ दिएको छ । एमाले प्रमुख सचेतक महेश बर्तौलाले गृहमन्त्री लेखकको राजीनामा माग्ने विपक्षीहरुको माग पूरा नहुने जवाफ दिए । संसद् भवन परिसरमा मिडियाकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उनले विपक्षीहरुले राखेका दुवै माग पूरा नहुने अडान दोहोर्याए । उनले भने,‘गृहमन्त्रीले राजीनामा दिनुपर्ने कुरै छैन। राजीनामा आउँदैन। छानबिन समिति पनि बनाउन आवश्यक छैन।’ उनले विपक्षीहरुलाई आफ्नो अडानबाट ब्याक हुन आग्रह गरे । 

प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२  २१:२२
प्रतिक्रिया दिनुहोस्