संसद् खुलाउन सभामुख सक्रिय, सत्ताधारी र विपक्षीको पालैपालो छामे नाडी

मंगलबार, जेठ २०, २०८२

सभामुख देवराज घिमिरेले सत्ता पक्ष र विपक्ष दलसँग छुट्टाछुट्टै छलफल गरेका छन्। संसदमा देखिएको गतिरोध अन्त्यका लागि सभामुख घिमिरेले माओवादी केन्द्रका प्रमुख सचेतक र एमाले, नेपाली कांग्रेसका प्रमुख सचेतकसँग छलफल गरेको  प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।

उनले भने, ‘सभामुखले अहिले नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गर्नुभयो। त्यसपछाडि अहिले एमाले र नेपाली कांग्रेसका प्रमुख सचेतकसँग छलफल गरिरहनु भएको छ।’

भिजिट भिसा प्रकरणको अनुसन्धानका लागि गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद् सुचारु हुन नदिने विपक्षीले अडान राखेका छन्।

अडान निरन्तर राखेपछिप्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख दलका शीर्ष नेताहरूबीचमा संसद्को अवरोध खुलाउने विषयमा सोमबार छलफल गरेका थिए। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री एवं  एमाले अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखकलगायतको सहभागिता थियो । शीर्ष दलकै बैठकभन्दा अघि प्रचण्डले  नेकपा एकीकृत  समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि  भेटेका थिए ।  एकीकृत समाजवादी भने गृहमन्त्री लेखकको कुरा सुन्नुपर्ने बताउँदै आएको छ । 

शीर्ष नेताको छलफलपछि माओवादी केन्द्र प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणको अनुसन्धानका लागि गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद् सुचारु हुन नदिने आफ्नो पार्टीको अडानबारे शीर्ष बैठकमा जानकारी गराएको बताए ।

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  १२:२१
प्रतिक्रिया दिनुहोस्