Dashain Banner
Dashain Banner

हिमानी ट्रस्ट सक्रिय, घाम अस्ताएपछि नारायणहिटी दरबारमा दीप प्रज्वलन

आइतबार, जेठ १८, २०८२

दरबार हत्याकाण्डमा निधन भएका राजपरिवारहरूको सम्झनामा हिमानी ट्रस्टले भोलि नारायणहिटी दरबारमा दीप प्रज्वलन गर्ने भएको छ ।

हिमानी ट्रस्टले सूचना जारी गर्दै भोलि (सोमबार) नारायणहिटी दरबार परिसरमा रहेको श्री चतुरव्युह नारायण मन्दिरमा दीप प्रज्वलनको कार्यक्रम राखिएको जानकारी दिएको हो ।

नारायण धाम परिसरमा बेलुका ६ः३० मा दीप प्रज्वलन गरिने सूचनामा उल्लेख छ । यद्यपी दीप प्रज्वलनमा को–को सहभागी हुन्छन् भन्ने उल्लेख गरिएको छैन ।

‘स्वर्गीय श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेव एवं स्वर्गीय श्री ५ बडामहारानी ऐश्वर्य राज्य लक्ष्मीदेवी शाह लगायत सम्पूर्ण दिवङ्गत शाही परिवारका सदस्यहरूको आत्माको चिर शान्तिको कामना हेतु श्रद्धाञ्जली टक्र्याउन सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौँ,’ सूचनामा भनिएको छ ।

२०५८ जेठ १९ गते नारायणहिटी दरबारभित्र एक रात्रीभोजका क्रममा गोली चलेर तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाहको वंश विनाश भएको थियो । अहिलेसम्म पनि उक्त हत्याकाण्डको विश्वसनीय छानबिन हुन सकेको छैन ।

वीरेन्द्रको शेखपछि राजा बनेका उनका भाइ ज्ञानेन्द्रको शासनकाल लामो हुन सकेन । २०६२/६३ मा भएको आन्दोलनले राजतन्त्रको अन्त्यपछि उनले नारायणहिटी दरबार छोड्नु परेको थियो । पूर्वराजा ज्ञानेन्द्रकी आमा रत्न राज्यलक्ष्मी शाह भने अहिलेसम्म नारायणहिटीभित्रै बस्छिन् ।

पछिल्लो समय राप्रपा लगायत राजावादीहरुले राजसंस्था पुर्नस्थापना माग गर्दै आन्दोलन चर्काएका बेला हिमानी ट्रस्ट सक्रिय हुनुलाई अर्थपूर्ण रुपमा हेर्न सकिन्छ ।
 

प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  १३:३६
प्रतिक्रिया दिनुहोस्