सोसल मिडिया
युनिकोड
पछिल्लो डेढ महिना (वैशाख १ देखि जेठ १३ गतेसम्म) मात्रै ५ हजार युनिट बढी विद्युतीय सवारी साधन (ईभी) भित्रिएका छन् ।
व्यापारीहरूले विभिन्न भन्सार नाका हुँदै १२ गतेसम्म ४ हजार ८५० युनिट ईभी भित्र्याएका हुन् । त्यस्तै, बजेटको अघिल्लो दिन (जेठ १४ गते)मात्रै विभिन्न भन्सार नाकाबाट ३०० बढी ईभी जाँचपास भएको थियो।
डेढ महिनामा मात्रै पौने १४ अर्ब रुपैयाँ बराबरको उक्त संख्यामा ईभी भित्रिएका हुन् । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट मार्फत ईभीमा कर बढाउने हल्ला फैलिसँगै व्यवसायीहरूले धमाधम गाडी आयात गरेका हुन् ।
मुख्य गरी रसुवागढी, तातोपानी र भैरहवा नाकाबाट उल्लेख्य मात्रमा ईभी भित्रिएका हुन् । डेढ महिनामा रसुवागढी नाकाबाट कुल २ हजार ३०५ युनिट गाडी भित्रिएका छन् । जसमा वैशाखमा ६०५ युनिट र जेठको १३ दिनमा मात्रै १७०० युनिट ईभी भित्रएका हुन् । डेढ महिनामा रसुवागढीबाट मात्रै ५ अर्ब ६० करोड रुपैयाँ बढीको ईभी आयात भएका हुन् ।
रसुवागढी भन्सार कार्यालय स्रोतका अनुसार बजेटको अघिल्लो दिन मात्रै २५० युनिट बढी .गाडी जाँचपास भएको थियो । यस नाकाबाट चिनियाँ ब्राण्डका ईभीहरू भित्रिन्छ ।
त्यसैगरी, तातोपानी नाकाबाट डेड महिनामा १ हजार ६३८ युनिट ईभी भित्रिएका छन् । उक्त नाका हुँदै वैशाखमा १ हजार २१८ युनिट र जेठको १३ दिनमा ४२० युनिट ईभी भन्सार जाँचपास भएको हो । डेड महिनामा तातोपानी नाका हुँदै ५ अर्ब ८० करोड रुपैयाँ बढीको ईभी आयात भएको हो ।
त्यस्तै, डेढ महिनामा भैरहवा नाका हुँदै ८७२ युनिट ईभी आयात भएको छ । जसमा जेठको १३ दिनमा मात्रै १ अर्ब ४० करोड रुपैयाँ बराबरको ६६२ युनिट ईभी भित्रिएका छन् ।
तातोपानी, रसुवागढी र भैरहवा बाहेक अन्य नाकाबाट भने नगन्य मात्रमा आयात भएको छ । पछिल्लो डेढ महिनामा अन्य नाकाबाट करिब ५० युनिट ईभी भित्रिएका छन् ।
व्यवसायीले डेढ महिनामा झण्डै ६ महिनालाई पुग्ने गाडी आयात गरेका छन् । बजारको मागभन्दा चाररपाँच गुणा बढी गाडी ल्याएर स्टक राखेको देखिन्छ । नेपाली बजारमा हाल औसतमा मासिक १ हजार युनिट हाराहारी ईभी बिक्री भइरहेको छ । चालु आवको साढे १० महिनामा १४ हजार युनिट बढी ईभी आयात भएको छ ।