राष्ट्रिय गौरव र रणनीतिक महत्वका सडकलाई सरकारले कति बजेट विनियोजन गर्यो ?

शुक्रबार, जेठ १६, २०८२

सरकारले आगामी आर्थिक वर्ष २०८२/८२ का लागि भौतिक मन्त्रालयका लागि १ खर्ब ५२ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।

सोमबार अर्थमन्त्री विष्णुप्रसाद पौडलले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा राष्ट्रिय गौरव र रणनीतिक महत्वका सडकलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेका छन् ।

१. पूर्व पश्चिम राजमार्ग : सरकारले पूर्व पश्चिम राजमार्गको स्तरोन्नतिका लागि २१ अर्ब १९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आगामी वर्षआगामी २ वर्षभित्र पूर्व पश्चिम राजमार्गको काकडभिट्टा-लौकही, कमला-कञ्चनपुर, कमला-बागमती, बागमती-पथलैया, वुटवल-नारायणगढ, वुटवल-गोरूसिङ्गे खण्डको ४२२ किलोमिटर सडकलाई चार लेनमा स्तरोन्नति गर्ने भएको हो ।

२. हुलाकी राजमार्गले आगामी वर्षका लागि ३ अर्ब रुपैया बजेट पाएको छ ।  यस राजमार्गको निर्माण कार्य आगामी २ वर्ष भित्र सम्पन्न गरिने अर्थमन्त्री पौडेलले बताए ।

३. काठमाडौँ-तराई मधेश द्रुतमार्गले आगमी वर्षका लागि २४ अर्ब ४९ करोड रुपैयाँ बजेट पाएको छ । द्रुतमार्ग निर्माण आर्थिक् वर्ष २०८३/८४ भित्र सम्पन्न गर्ने सरकारको लक्ष्य छ । अर्थमन्त्री पौडेलका अनुसार आगामी वर्ष ३७ किलोमिटर सडकमा सबवेश, चार किलोमिटर सुरूङ्ग र ६० पुलको निर्माण कार्य सम्पन्न गरिने छ।

४. पृथ्वी राजमार्गको नौबिसे- मुग्लिङ्ग सडकका लागि ८ अर्ब ५२ करोड रुपैयाँ बजेट पाएको छ । यस सडकलाई डेडिकेटेड डबल लेनमा विस्तार गर्ने कार्यलाई तीब्रता दिइने  अर्थमन्त्री पौडेलले बताए । आगामी आर्थिक वर्षमा आँबुखैरेनी-पोखरा सडक खण्ड चार लेनमा स्तरोन्नति कार्य सम्पन्न हुने उनले बताए ।

५. कर्णाली, कालीगण्डकी र कोशी कोरिडोर निर्माण तथा स्तरोन्नतिलाई तीव्रतामा राखेको छ । कर्णाली करिडोरको कालागि १ अर्ब २७ करोड रुपैयाँ विनियोजन गरेको छ । कर्णाली कोरिडोरको हिल्सा- सिमकोट तथा खुलालु-पिलुचौर-तुम्च खण्डको सड़क स्तरोन्नति गर्ने भएको हो ।

६. कोशी कोरिडोरको खाँदबारी-दोभानखण्ड र कालीगण्डकी कोरिडोरको स्तरोन्नति गर्न २ अर्ब ३३ करोड विनियोजन गरेको छ ।

७. झापाको बाहुनडाँगीदेखि डडेल्धुराको रूपालसम्मका बस्ती र बजारलाई जोड्ने मदन भण्डारी राजमार्ग निर्माणका लागि २ अर्ब ३३ करोड विनियोजन गरिएको छ ।

८. गल्छी-रसुवागढी सडक स्तरोन्नतिका लागि २ अर्ब ५६ करोड रुपैयाँ विनियोजन गरेको गरेको छ ।

९. काठमाडौं चक्रपथको कलंकी-बसुन्धरा-धोवीखोला सडक खण्डको स्तरोन्नति कार्यलाई निरन्तरता दिन १ अर्ब २४ करोड रुपैयाँ विनियोजन भएको छ ।

११. निर्माणाधीन वैकल्पिक सहायक राजमार्ग र निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रम अन्तर्गतका आयोजनाहरूलाई आगामी आर्थिक वर्षभित्र सम्पन्न गरी सिर्जित दायित्व फरफारक गर्न २१ अर्ब ८ करोड  रुपैयाँ विनियोजन भएको छ ।

१२. राष्ट्रिय राजमार्गमा पर्ने सडकपुल निर्माण गर्न ३ अर्ब १८ करोड रुपैयाँ विनियोजन गरेको छु।

त्यस्तै, सरकारले  विपदबाट क्षतिग्रस्त बिपी राजमार्ग, अरनिको राजमार्ग, कान्ति राजपथ, मेची राजमार्ग लगायत सडकको पुनर्निमाण गर्न आवश्यक बजेट विनियोजन गरेको छ ।

त्यसैगरी, आगामी वर्ष पूर्व पश्चिम राजमार्गदेखि तराई मधेशका जिल्ला सदरमूकाम हुँदै सीमावर्ती नाका जोड्ने रानी-इटहरी, वीरगञ्ज-पथलैया, वेलहिया-वुटवल, मोहनापुल-अत्तरिया लगायतका चार लेनका व्यापारिक मार्गको निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

त्यसैगरी, अत्तरिया-खोड्पे-दार्चुला सडक खण्डको विस्तृत अध्ययन सम्पन्न गरी डेडिकेटेड डवल लेनमा स्तरोन्नति गर्ने कार्य सुरु गर्ने भएको छ । महाकाली करिडोर अन्तर्गत ब्रह्मदेव-झुलाघाट-तुसारपानी खण्डको स्तरोन्नति गर्न र तुसारपानी-टिंकर खण्डको ट्रयाक खोल्न आवश्यक बजेट छुट्याएको छ ।

सरकारले कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत-खुलालु-कालीकोट-जुम्ला सडक र सुर्खेत-महावुलेक-नाग्मा-गमगढी सडकलाई स्तरोन्नति गर्न बजेट व्यवस्था गरेको छ ।  ताल्चा-रारा सडक कालोपत्रे गर्ने भएको छ ।

रणनीतिक तथा व्यापारिक महत्त्वका तमोर कोरिडोर, दमक-चिसापानी सडक, भेरी कोरिडोर, डुम्रे-बेशीशहर-चामे सडक, कक्रहवा-सालझण्डी-सन्धिखर्क-ढोरपाटन सडक, शहीद मार्ग, रत्न राजमार्ग, राप्ती राजमार्ग, खुटिया-दिपायल लगायतका सडकको स्तरोन्नति गर्न आवश्यक रकम विनियोजन गरिएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  १२:४७
प्रतिक्रिया दिनुहोस्