शेखरले मागे गृहमन्त्रीको राजीनामा, कुलिङ पिरियड अत्यावश्यक भएको ठहर 

शनिबार, जेठ १०, २०८२

नैतिकताको आधारमा राजीनामा दिएर छानबिनका लागि मार्गप्रशस्त गर्न नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश लेखकलाई सुझाब दिएका छन्। 

शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनु उपयुक्त हुने धारणा व्यक्त गरेका हुन् । उनले विगतमा पनि केही मन्त्रीहरुले राजीनामा दिएर छानबिनमा सघाएको र मन्त्री लेखकले राजिनामा दिँदा उनकै नैतिकता सघाउ पुग्ने बताए ।

नेता कोइरालाले संवैधानिक निकायहरु सचिवहरूको रिटायरमेण्ट क्लब जस्तो बनेकाले कर्मचारीहरुको लागि कुलिङ पिरियड अत्यावश्यक रहेको धारणा राखे । उनले लोकतन्त्रलाई मुख्य लक्ष्य बनाउने राजनैतिक दलहरुले जनमत संग्रहबाट डराउन नहुने जिकिर गरे। उनले कांग्रेस, एमाले र माओवादी एकजुट भएर हिन्दु राष्ट्र र संवैधानिक राजसंस्था बारे जनमत संग्रह गराउन सक्नुपर्ने बताए।

त्यस्तै नेता कोइरालाले ०८२ सालको मंसिरमा नै नेपाली कांग्रेसको महाधिवेशन हुनुपर्ने आफ्नो अडान कायम रहेको पनि बताएका छन्। 

प्रकाशित मिति: शनिबार, जेठ १०, २०८२  १३:०७
प्रतिक्रिया दिनुहोस्