सोसल मिडिया
युनिकोड
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सर्वोच्च अदालतमा बुधबार पनि सुनुवाइ जारी रहने भएको छ ।
मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा बन्दी प्रत्यक्षीकरण निवेदनसँगै लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको तर्फबाट नारायणबहादुर पहराईसहित ४४ जनाविरुद्ध दायर गरिएका दुई वटा रिटमाथि सुनुवाइ सुरु भएको थियो ।
न्यायाधीशद्वयले मंगलबार नै बहस सक्ने गरी छोट्याउन आग्रह गरे पनि बहस नसकिएकाले उक्त निवेदन र रिटलाई ‘हेर्दाहेर्दै’ मा राखिएको थियो । मंगलबार लामिछानेको तर्फबाट सुदीज्ञ पन्त, सुशील पन्त, सुरेन्द्र थापा, दीपेन्द्र झा, नारायणदत्त कँडेल, विवेक राउतलगायतले बहस गरेका थिए ।
आज लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले बहस गरेपछि पूर्वडीआईजी जोशीका कानुन व्यवसायी, त्यसपछि पीडित र सरकारी वकिलले बहस गर्नेछन् । सुनुवाइ सकिएमा लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन तथा उनी र पूर्वडीआईजी जोशीका तर्फबाट दायर रिटमाथि सम्भवतः आजै आदेश आउने सम्भावना छ ।