Dashain Banner
Dashain Banner

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथिको सुनुवाई जारी 

बुधबार, जेठ ७, २०८२

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सर्वोच्च अदालतमा  बुधबार पनि सुनुवाइ जारी रहने भएको छ ।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा बन्दी प्रत्यक्षीकरण निवेदनसँगै लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको तर्फबाट नारायणबहादुर पहराईसहित ४४ जनाविरुद्ध दायर गरिएका दुई वटा रिटमाथि सुनुवाइ सुरु भएको थियो ।

न्यायाधीशद्वयले मंगलबार नै बहस सक्ने गरी छोट्याउन आग्रह गरे पनि बहस नसकिएकाले उक्त निवेदन र रिटलाई ‘हेर्दाहेर्दै’ मा राखिएको थियो । मंगलबार लामिछानेको तर्फबाट सुदीज्ञ पन्त, सुशील पन्त, सुरेन्द्र थापा, दीपेन्द्र झा, नारायणदत्त कँडेल, विवेक राउतलगायतले बहस गरेका थिए ।

आज लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले बहस गरेपछि पूर्वडीआईजी जोशीका कानुन व्यवसायी, त्यसपछि पीडित र सरकारी वकिलले बहस गर्नेछन् । सुनुवाइ सकिएमा लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन तथा उनी र पूर्वडीआईजी जोशीका तर्फबाट दायर रिटमाथि सम्भवतः आजै आदेश आउने सम्भावना छ ।

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  १०:५४
प्रतिक्रिया दिनुहोस्