Dashain Banner
Dashain Banner

आठभाई मिलेर राज्यको २५ लाख चप्काए, अख्तियारले लगायो सनासो

बिहीबार, जेठ १, २०८२

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको डाक्नेश्वरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकिसुन यादवसहित आठजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरूले २५ लाख चार हजार ५३० रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा डाक्नेश्वरी नगरपालिकाका इन्जिनियर रमाकान्त चौधरी, इन्जिनियर कुलानन्द बिराजी, सब–इन्जिनियर सञ्जयकुमार यादव, योजना शाखामा कार्यरत शाखा अधिकृत विनोदकुमार ठाकुर, लेखापाल अनिता परियार, निकिता चौधरी, जी.एस. निर्माण सेवा र उक्त निर्माण सेवाका प्रोपाइटर विजयकुमार यादव छन् ।

डाक्नेश्वरी नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ मा आफ्नो सम्पूर्ण वडामा बिजुलीको पोलमा उच्चस्तरीय पोल लाइट जडान गर्दा रकम हिनामिना गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धान हुँदा उक्त कार्य गर्दा २५ लाख चार हजार ५३० रुपैयाँ भ्रष्टाचार भएको पाइएको अख्तियारद्वारा बुधबार जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  १०:२२
प्रतिक्रिया दिनुहोस्