भ्रष्टाचार नियन्त्रण गर्न राष्ट्रसेवक कर्मचारीको सेवासुविधामा बढाउँन माननीयको माग

मंगलबार, वैशाख ३०, २०८२

सांसद मोहम्मद खालिदले कर्मचारीको सेवासुविधालाई समयानुकूल बनाउन आग्रह गरेका छन्।

राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव बाहेक) सभामा छलफलमा भाग लिँदै सांसद खालिदले मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्न राष्ट्रसेवक कर्मचारीको सेवासुविधामा वृद्धि गर्नुपर्ने बताए।

‘बजेट र सीमित स्रोतसाधनलाई न्यायोचित ढंगबाट वितरण र प्राथमिकतामा राख्न सकिएको छैन। आगामी बजेटमा सुधार हुने आशा छ र हुलाकी सडकका बारेमा पनि कुरा आउन सकेन,’ उनले भने, ‘मौलिक हक र राज्यका निर्देशक सिद्धान्तबारे सम्बोधन हुनु राम्रो छ। तर नागरिक मैत्री सेवा र सुशासनको खाँचो रहेको छ।’

तराई मधेशमा सिँचाइ सुविधा नपुर्‍याई मल उपलब्ध नगरी कृषिमा आत्मनिर्भर बन्न नसकिने उनको भनाइ छ। गुणस्तरीय शिक्षा उपलब्ध हुनुपर्ने र आगामी बजेटमा यी समावेश गर्नुपर्नेमा सांसद खालिदको जोड रहेको छ।

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  २१:२१
प्रतिक्रिया दिनुहोस्