सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र पाकिस्तानबीचको बढ्दो तनावलाई ‘हात हालाहालको स्थिति’ भनेर चित्रण गरेका छन् । उनले भारत र पाकिस्तान सम्भावित युद्धबाट पन्छिएकोमा धन्यवाद ज्ञापन गरे । आज (आइतबार) लुम्बिनीमा आयोजित २५६९ औँ बुद्ध जयन्ती मूल समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
भारत–पाक तनावबारे उनले भने,‘केही दिन अगाडि मात्रै हाम्रै छिमेकमा अलिकति हात हालाहाल भएको थियो । तर त्यो हात हालाहाल बढ्न पाएनन् । संयमका लागि उहाँहरूलाई धन्यवाद छ । हामीले सुरुदेखि भन्यौँ, विस्तार हुन नपाओस् है यो हात हालाहालको स्थिति भनेर । लडाइँमा परिणत हुन नपाओस् भन्ने कामना गर्यौँ । उहाँहरुसित पनि कुरा गर्यौँ, नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । फेरि पनि केही खसखस र आरोप प्रत्यारोपको स्थिति छ ।’
भारत र पाकिस्तानबीच हालै तनाव बढेको थियो । २२ अप्रिलमा भारतको पहलगाममा भएको आतंकवादी हमलाको जवाफमा भारतले पनि कारबाही गरेको थियो । दुई देशबीचको बढ्दो तनावलाई लिएर अमेरिकी अधिकारीले शान्तिको लागि मध्यस्ता गरेका थिए ।दुई देश युद्धविराम गर्न सहमत भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोसल मिडियामार्फत सार्वजनिक गरेका थिए । लगत्तै भारत र पाकिस्तानका अधिकारीले पनि यसको पुष्टि गरेका थिए ।