मोदीले नेपाली भाषामै दोहोरो संवाद गर्ने कोश्यारीलाई किन पठाए नेपाल ? को-को भेटे ?

बिहीबार, वैशाख २५, २०८२

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अनौपचारिक दूतका रुपमा भाजपाका नेता भगतसिंह कोश्यारी नेपाल भ्रमणमा आएका छन्।

भाजपाका विदेश विभाग प्रमुख विजय चौथाईवाले अघिल्लो हप्ता मात्रै नेपाल भ्रमण गरेर फर्किएलगत्तै कोश्यारी आएका हुन्। उनलाई नेपालको राजनीतिक परिस्थितिबारे बुझ्न पठाइएको स्रोतले बतायो।

‘उहाँ नेपालको राजनीतिको जायजा लिन र सबै नेता शीर्ष नेताहरुसँग भेटघाटका लागि आउनुभएको हो,’ स्रोतले भन्यो। कोश्यारी अघिल्लो महिना अप्रिल ७ तारिखमै नेपाल आउने कार्यक्रम तय भए पनि एक महिना ढिलो गरी काठमाडौँ उत्रेका हुन्।

बिहीबार दिउँसो एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीबाट कोश्यारीले भेटवार्ता सुरु गरेका हुन्। लगत्तै उनी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कुराकानी गर्न खुमलटारस्थित निवास पुगेका थिए।

कोश्यारीले कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका शीर्ष नेताहरुसँग पनि भेट्ने कार्यक्रम छ। तर कोश्यारीले राप्रपा अध्यक्षसँग भेट गर्नेबारे बिहीबार साँझसम्म तय भएको छैन। चौथाइवालेले राप्रपाका नेताहरुसँग भेट गरेका थिएनन्।

नेपालप्रतिको नीतिलाई लिएर भारत दुविधाग्रत रहेको अवस्थामा भारतीय पक्षको उच्च तहबाट भएको तारन्तरको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

कोश्यारी उत्तराखण्डका पूर्वमुख्यमन्त्री हुन् भने नेपाल भारतबीच गठन भएको प्रबुद्ध समूहका भारतका तर्फबाट संयोजक हुन्। उनी सत्तारुढ भारतीय जनता पार्टीका प्रभावशाली मध्येका एक नेता हुन्। उनेको नेपाली भाषामा विशेष दख्खल राख्छन।  नेपाली भाषामै कुरा गर्छन। 

राजनीतिक स्रोतहरुका अनुसार भारत नेपालका मामिलामा आफ्नो समन्वयनमा भएको १२ बुँदेको राजनीतिक धारलाई निरन्तरता दिने, हिन्दू गणतन्त्रको पक्षमा उभिने वा राजसंस्था पुनःस्थापना, हिन्दू राज्यसहितको २०६३ सालअघिको अवस्थामा फर्किने नीति लिने भन्नेमा दुविधामा रहेको बताइन्छ।

त्यस्तो अवस्थामा चौथाईवाले पछि भएको कोश्यारीको भ्रमणलाई भारतले नेपाल नीतिका सम्बन्धमा लिने भावी रणनीतिसँग जोडिएको बुझिन्छ। उनीपछि पनि भारतीय सत्तारुढ दलका तर्फमा उच्च तहको भ्रमण हुने कार्यतालिका रहेको स्रोत बताउँछ।

२०६३ को परिवर्तनपछि नेपालमा भारतीय संस्थापन पक्षले कूटनीतिक विश्वसनीयता गुमाएको छ।

२०६३ वैशाशमा तत्कालीन भारतीय प्रधानमन्त्री मनमोहन सिंहले करण सिंहमार्फत अघि सारेको संवैधानिक राजतन्त्र र बहुदीय प्रजातन्त्रको रोड म्यापलाई विदेश सचिव श्याम शरणले उट्याएर नेपाललाई अहिलेको राजनीतिक कोर्समा पुर्याएका थिए। प्रधानमन्त्रीबाट स्वीकृत भएको रणनीति विदेश सचिवले उट्याएपछि नेपालमा भारतल परम्परागत हैसियत गुमाएको र त्यसका कारण चीन वा पश्चिमा शक्ति हावी हुने सम्भावना बढेको दिल्लीको मूल्यांकन छ।

बिमस्टेकको छैँटौँ सम्मेलनका क्रममा समकक्षी ओलीसँगको भेटमा मोदीले नेपालको परिस्थितिप्रति चिन्ता जनाएका थिए। उनले नेपालमा तीव्रगतिमा भएको धर्म परिवर्तन, राजावादीहरुको आन्दोलन चीन र पश्चिमाको बढ्दो प्रभावप्रति बढी चासो राखेको उच्च राजनीतिक स्रोतले बतायो।

पाकिस्तानले भारतस्थित कास्मिरको पहलगाममा अप्रिल २२ गत आक्रमण गरेको थियो। उक्त आक्रमणको जवाफ भारतले मंगलबार दिएपछि उनीहरु द्वन्द्व र भयको आशंकाको अवस्थामा छन्। त्यसप्रति नेपालको सद्भाव लिनु पनि कोश्यारी भ्रमणको उद्देश्य रहेको बुझिएको छ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  २१:२०
प्रतिक्रिया दिनुहोस्