मन्त्रिपरिषद बैठकले शिक्षकका माग अनुमोदन गर्यो, पूरा भएका यी हुन् नौ बुँदे माग

बुधबार, वैशाख १७, २०८२

मन्त्रिपरिषद बैठकले शिक्षकका माग अनुमोदन गरेको छ। बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नौ बुँदे मागलाई अनुमोदन गरेको शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री रघुजी पन्तले जानकारी दिए।

बुधबार नेपाल शिक्षक महासंघ र सरकारबीच वार्ता सहमतिमा टुंगिएको थियो। त्यसलगत्तै मन्त्रिपरिषद बैठक बसेको थियो। बैठकले सो सहमति अनुमोदन गरेको हो।

‘हाम्राबीचमा सहमति भएलगत्तै क्याबिनेट बैठक बसेको थियो। हामीले प्रधानमन्त्रीज्यूलाई यस्तो सहमति भएको छ भनेर सुनायौँ’ मन्त्रिपरिषद बैठकपछि सञ्चारकर्मीसँग बोल्दै शिक्षामन्त्री पन्तले भने, ‘प्रधानमन्त्रीले ठीक छ, तपाईंहरू अगाडि बढ्नुहोस् भन्नुभयो।’

पत्रकार सम्मेलनमा गृहमन्त्री रमेश लेखकसहित नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीलगाउत शिक्षक नेताहरू सहभागी थिए।

गएको चैत २० गतेदेखि आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारबीच बुधबार लगातार तेस्रो दिन वार्ता भएको थियो। वार्तामा महासंघले राखेको नौ बुँदे मागप्रति सरकारी वार्ता टोली सहमत भएपछि अनुमोदनका लागि मन्त्रिपरिषद् बैठकमा लगिएको थियो।

९ वटा बुँदा यसप्रकार छन्-

१) सबै शिक्षक कर्मचारीको स्वास्थ्य उपचारका लागि सातवटै प्रादेशिक अस्पताल र काठमाडौँस्थित निजामती अस्पतालमा सहुलियत र सुविधाको व्यवस्था गर्ने।

२) राहत, अस्थायी/करार, साविक उमावि, सिकाइ अनुदान प्राविधिक धार र विशेष शिक्षा बालविकास सहजकर्ता लगायत सबै अस्थायी प्रकृतिका शिक्षक तथा विद्यालय कर्मचारीको बिरामी बिदा सञ्चित हुने र त्यो बापतको रकम अवकाशको बखत एकमुष्ट प्रदान गर्ने।

३) प्रारम्भिक बाल विकास सहजकर्ता (बालविकास शिक्षक) र विद्यालय कर्मचारीको लागि खरिदार सरह दरबन्दी कायम गर्ने सो पदबमोजिम (प्रति महिना ३२,९०२) तलब उपलब्ध गराउने । त्यसैगरी विद्यालय सहयोगीको हकमा श्रेणीविहीन कर्मचारी सरह प्रति महिना रकम रु २६,०८२ उपलब्ध गराउने । सो रकम संघीय सरकारले व्यहोर्ने व्यवस्था गर्ने।

४) आर्थिक वर्ष २०८२/८३ बाट स्थायी शिक्षकमध्ये प्राथमिक तृतीयका लागि खरदार सरह (१० ग्रेड), प्राथमिक द्वितीय र निम्न माध्यमिक तृतीयको नायब सुब्बासरह (१० ग्रेड) र माध्यमिक प्रथमको सहसचिव सरह (७ ग्रेड) ग्रेड सङ्ख्या कायम गर्ने ।

५) स्थायी तथा अस्थायी प्रकृतिका कोटाका सबै शिक्षकले निजामती सरह दुर्गम भत्ता पाउने व्यवस्था गर्ने साथै ४५ दिने बिदामा समेत दुर्गम भत्ता उपलब्ध गराउने व्यवस्था गर्ने।

६) संस्थागत विद्यालयका शिक्षक/कर्मचारी र सामुदायिक विद्यालयका निजी स्रोतका शिक्षकका लागि अनिवार्य योगदानमा आधारित सामाजिक सुरक्षा कोषको व्यवस्था गर्ने।

७) नेपाल सरकारको मर्यादाक्रममा शिक्षकलाई पनि समावेश गर्ने । यसरी समावेश गर्दा विश्वविद्यालयका शिक्षकहरूसँगै राख्ने।

८) निम्न माध्यमिक तह प्रथम श्रेणीका शिक्षकहरूको तलब तथा ग्रेड माध्यमिक द्वितीय सरह हुने व्यवस्था गर्ने।

९) नेपाल शिक्षक महासङ्घद्वारा सञ्चालन गरिएको आन्दोलन चलिरहेको बखत प्रधानाध्यापक/शिक्षक/कर्मचारीमाथि स्थानीय तहले जथाभावी सरुवा गर्ने तथा तलब भत्ता नदिने भनी धम्काउने काम गर्न थालेका छन् । यस्ता सबै काम कारबाही बदर गरिनुपर्ने । 

9-bunde-mag-1746028192.jpg
 

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  २१:०६
प्रतिक्रिया दिनुहोस्