छलछाम गरेर सरकारी पद हत्याउने विकललाई अख्तियारले यसरी अत्यायो 

आइतबार, वैशाख ९, २०८१

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अमेरिकाको पीआर लिइसकेपछि सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक बनेकाले उनीमाथि झुटा विवरण पेस गरी सार्वजनिक पद लिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले भ्रष्टाचार मुद्दा चलाएको हो।

नेपालको संविधानको धारा २९१ को उपधारा (१), निजामती सेवा ऐन, २०४९ को दफा ६१ (२) (ग) र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयनसम्बन्धी मापदण्ड, २०७३ को दफा ११ को देहाय (घ) विपरीत विकलले राष्ट्रसेवकको ओहदामा बहाल रही लाभ र सुविधा पाइरहने उद्देश्यले आफैले स्वःघोषणा गरी विदेशको स्थायी आवासीय अनुमतिपत्र नलिएको भनी विवरण पेस गरी ढाँटेको अभियोगपत्रमा उल्लेख छ।

संयुक्त राज्य अमेरिकाको कानुनी स्थायी आवासीय अनुमति लिएर पनि उक्त विवरण लुकाईछिपाई २०७९ जेठ १३ गते पदावधि थप गर्दासमेत उक्त विवरण लुकाई झुटा विवरण दिई राष्ट्रसेवकको हैसियतमा लाभ र सुविधा प्राप्त गरेको पुष्टि भएकोले भ्रष्टाचार गरेको अख्तियारको अनुसन्धानले देखाएको छ।

उनी सुरक्षण मुद्रण केन्द्रकै उपकरण खरिदमा भएको भ्रष्टाचार प्रकरणका पनि मुख्य अभियुक्त हुन्। उक्त मुद्दा हाल विशेष अदालतमा विचाराधीन छ। उनीमाथि गैरकानुनी सम्पत्ति आर्जनको कसुरमा पनि अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १४:२४
प्रतिक्रिया दिनुहोस्