सरकारले आदेशलाई कानुन ठानेर देश डुबाउन खोजेको कांग्रेसको ठाडो ठहर

शनिबार, मंसिर १२, २०८३

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारले आफ्नो आदेशलाई कानुन र राज्यका निकायलाई आफ्नो सचिवालयजस्तो ठान्ने प्रवृत्ति देखिएको बताएका छन्।

शनिबार पार्टी मुख्यालय सानेपामा केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले पछिल्लो समय सरकारले राज्यशक्तिको दुरुपयोग गर्दै राजनीतिक आवद्धताका आधारमा छानिछानी अनुसन्धान र कारबाही गर्ने प्रवृत्ति देखाएको बताएका हुन्।

कानुनभन्दा माथि कोही पनि हुन नसक्ने उल्लेख गर्दै उनले अपराधमा संलग्न जोसुकै व्यक्ति जुनसुकै राजनीतिक दल वा शक्तिसँग आवद्ध भए पनि कानुनी प्रक्रियामा आउनुपर्ने बताए।

तर, सरकारको विरोधी भएकै आधारमा अपराध नगरेको व्यक्तिलाई जबर्जस्ती अनुसन्धानको दायरामा तान्नु र सरकारनिकट व्यक्तिलाई संरक्षण गर्नु राज्यशक्तिको दुरुपयोग भएको उनको भनाइ छ।

उनले प्रधानमन्त्रीको सचिवालय र मुख्य सल्लाकारसँग जोडिएको सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का अन्त्य प्रकरण तथा हिरासतमा रहेका व्यक्तिको मोबाइल कब्जा प्रकरणमा सरकारले अनुसन्धान नै नगरेको टिप्पणी गरे।

उनले भने, ‘सरकारले आफ्नो आदेशलाई कानुन र राज्यका निकायलाई आफ्नो सचिवालयजस्तो ठान्ने प्रवृत्ति देखिएको छ। कानुनको निष्पक्ष र पारदर्शी कार्यान्वयनको सट्टा व्यक्तिको राजनीतिक आबद्धता र सरकारसँगको निकटताका आधारमा छानिछानी अनुसन्धान र कारबाही गर्ने प्रवृत्ति देखिएको छ। सुनकोशी मरिण डाइभर्सन आयोजनासँग सम्बन्धित प्रकरण तथा प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको जिम्मेवारीमा रहेका व्यक्तिसँग जोडिएको मोबाइल प्रकरणले सरकारको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाएको छ। यस्ता थुप्रै घटनाहरू भएका छन्।’

उनले हिरासतमा रहेका व्यक्तिलाई ज्यान मार्ने धम्की दिएकोप्रति पनि आपत्ति जनाए। हिरासतमा रहेका व्यक्तिलाई अनावश्यक रुपमा दबाब दिएर आफूअनुकूल बयान दिन लगाएको घटना सार्वजनिक भएको उल्लेख गर्दै उनले यस्तो कार्य राज्यशक्तिको गम्भीर दुरुपयोग भएको बताए।

सरकारले आफ्ना राजनीतिक विरोधीमाथि कानुन प्रयोग गर्ने र निकटस्थलाई संरक्षण गर्ने नीति लिएको उनको भनाइ छ। उनले राज्यका निकायहरूको व्यावसायिक स्वतन्त्रता सुनिश्चित गर्न, अनुसन्धानमा राजनीतिक हस्तक्षेप रोक्न र दोषी देखिएका जोसुकैलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरे।

सरकारको संविधान, संसद्, विधिको शासन र राज्यका निकायमाथिको हस्तक्षेप नरोके कांग्रेस अब मौन नरहने उनले चेतावनी दिए।

प्रकाशित मिति: शनिबार, मंसिर १२, २०८३  १६:२३
प्रतिक्रिया दिनुहोस्