बिचौलिया इनमसँग उठबस गरेपछि आफैं बिच्किएका न्यायाधीशले हेर्न थाले मुद्दा

मंगलबार, मंसिर १, २०८३

बिचौलिया इनम सापकोटासँग उठबस गरेपछि विवादमा परेर बिदामा बसेका सर्वोच्चका न्यायाधीश हरि फुयाल र नवनियुक्त चार जना न्यायाधीशले मुद्दाको सुनुवाइ सुरु गरेका छन्।

छठ र तिहारको बिदा सकिएर कार्यालय खुलेसँगै विवादित न्यायाधीश फुयाल र नवनियुक्त न्यायाधीशहरुले काम सुरु गरेका हुन्।

न्याय परिषदको सिफारिसलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि चार न्यायाधीशलाई राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्चको न्यायाधीशमा नियुक्त गरेका थिए। उनीहरूले कात्तिक २७ गते पद तथा गोपनीयताको शपथ लिएका थिए। पद तथा गोपनीयताको शपथ लिएपछि मंगलबार पहिलो दिन सर्वोच्च अदालत खुलेसँगै उनीहरुले इजलासमा बस्न सुरु गरेका हुन्।

नवनियुक्त न्यायाधीश डा. रत्नबहादुर बागचन्दको प्रधानन्यायाधीश मनोज शर्मासँग संयुक्त इजलास तोकिएको छ। अर्का न्यायाधीश चन्द्रबहादुर सारुको टेकप्रसाद ढुंगाना, जनक पाण्डेको नहकुल सुवेदी र गोकर्ण डाँगीलाई हरि फुयालसँग संयुक्त इजलास तोकिएको हो। चार न्यायाधीश काममा आएसँगै सर्वोच्चमा न्यायाधीशको संख्या २० पुगेको छ भने अझै एक पद खाली छ।

त्यस्तै विवादमा परेर कात्तिक १७ गतेदेखि चार दिन बिदा लिएका र त्यसपछि सरकारी बिदापछि न्यायाधीश फुयालले पनि काम सुरु गरेका हुन्। बिचौलियासँगको सम्बन्धबारे छानबिन हुनुपर्ने आवाज उठिरहेका बेला फुयाल नियमित काममा फर्किएका हुन्।

प्रकाशित मिति: मंगलबार, मंसिर १, २०८३  १३:४०
प्रतिक्रिया दिनुहोस्