अर्थमन्त्री वाग्लेले सुशासन कायम गराएरै राजस्व संकलन गर्ने लक्ष्य पूरा गर्ने

मंगलबार, मंसिर १, २०८३

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकमा सुशासन कायम गराएरै सरकारले यस वर्ष राखेको १५ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य पूरा गराइछाड्ने बताएका छन्। 

गत वर्षको तुलनामा करिब २७ प्रतिशतले बढी राजस्व उठाउने लक्ष्य महत्त्वाकांक्षी भए पनि सुशासन कायम गराएरै हासिल गरिने उनको भनाइ छ। राष्ट्रिय कर दिवसका अवसरमा बोल्दै अर्थमन्त्री वाग्लेले गत वर्ष १२ खर्ब ५० अर्ब रुपैयाँ राजस्व संकलन भएको जानकारी दिए। 

करिब ७० खर्ब रुपैयाँको अर्थतन्त्रमा १२ खर्ब रुपैयाँ हाराहारी मात्र राजस्व संकलन भइरहेको उल्लेख गर्दै उनले यस वर्ष राजस्व वृद्धिको लक्ष्य बढाइएको बताए। ‘बोल्ड रिफर्मको सन्देश र सुशासनको प्रतिफलका कारण प्रतिकूल परिस्थितिका बीच पनि हामी अगाडि बढिरहेका छौँ। यसपटक राजस्व संकलनको लक्ष्य पनि निकै महत्वाकांक्षी छ,’ उनले भने, ‘गत वर्षको तुलनामा करिब २७ प्रतिशतको वृद्धि लक्ष्य राखिएको छ।’

कोभिड–१९ महामारीपछि नेपालमा राजस्व संकलनको औसत वृद्धिदर ७ देखि ९ प्रतिशतमा सीमित रहेको उनले उल्लेख गरे। उक्त वृद्धिदरले मात्र अपेक्षित लक्ष्य हासिल गर्न नसकिने भन्दै यसपटक २७ प्रतिशतको वृद्धि लक्ष्य निर्धारण गरिएको उनको भनाइ छ। 

राजस्व संकलनको गति अझ तीव्र बनाउनुपर्ने आवश्यकता औँल्याउँदै अर्थमन्त्री वाग्लेले आफू स्वयं पनि प्रणालीलाई सक्रिय बनाउन मैदानमा उत्रने बताए। ‘अहिले पनि हामी लक्ष्यभन्दा धेरै पछाडि छैनौँ। यद्यपि राजस्व संकलनको प्रक्रियालाई अझ तीव्र बनाउनुपर्ने आवश्यकता छ,’ वाग्लेले भने, ‘म आफैँ पनि प्रणालीलाई सक्रिय बनाउन मैदानमा उत्रँदै छु।’

निजी क्षेत्रका सुझाव, गुनासा र समस्याहरू सुन्न सरकार तयार रहेको उनको भनाइ थियो। ‘निजी क्षेत्रका सुझाव र गुनासा सुन्न पनि हामी तयार छौँ तर करजस्ता विषयमा पटक–पटक, हरेक हप्ता नीतिगत परिवर्तन गरिरहनु हुँदैन,’ उनले भने, ‘अत्यावश्यक विषयमा सुधार गरौँ, तर निजी क्षेत्रलाई नीतिगत स्थिरता र पूर्वानुमानयोग्यता पनि दिनुपर्छ।’

अर्थमन्त्री वाग्लेले कर नीतिमा स्थिरता र पूर्वानुमानयोग्यता कायम गर्नुपर्नेमा पनि जोड दिए। करजस्ता महत्त्वपूर्ण विषयमा पटक–पटक र हरेक हप्ता नीतिगत परिवर्तन गरिरहन नहुने उनको भनाइ छ। 

बलिया नीतिगत सुधार र सुशासनको प्रतिफलका कारण प्रतिकूल परिस्थितिबीच पनि सरकार आर्थिक गतिविधि अघि बढाउन सफल भइरहेको उनले बताए। राजस्व संकलनको लक्ष्य पूरा गर्न सरकार र निजी क्षेत्रबीच सहकार्य तथा समन्वय आवश्यक रहेको समेत उनको भनाइ छ।

प्रकाशित मिति: मंगलबार, मंसिर १, २०८३  १३:१४
प्रतिक्रिया दिनुहोस्